काठमाडौँ । संसद भवनमा लघुवित्त पीडितहरु प्रवेश गरेर नारवाजी गरेको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उक्त समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन् ।
सोमबार दिउँसो लघुवित्त पीडितहरु संसद भवनको परिसरभित्र प्रवेश गरेर नारावाजी गरेका थिए । संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
केही समययतादेखि उनीहरु काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका छन् । लघुवित्त पीडित सङ्घर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् । यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।