काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा यसपालिको दसैँमा १०३ वटा घटना भएका छन् । जस मध्ये ११८ जना घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरीले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार कात्तिक ४ गते फूलपातीदेखि शुक्रबारसम्म उपत्यकामा एक सय तीनवटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन् ।
यि मध्ये २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरु आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जुवा तासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कूल २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट पाँच लाख नगद बरामद गरिएको छ ।