काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा अनुसन्धानको हदम्याद मान्य नहुने जनाएको छ । मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको प्रमुख सचेतक सन्तोष परियार जानकारी दिए । उनका अनुसार बैठकमा ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद सम्बन्धी विचाराधीन विधेयक बारे छलफल भएको थियो । छलफलमा रास्वपाका सबै सांसदले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा स्विकार गर्न नसकिने बताएका थिए ।
सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न विधेयक ल्याउने तयारी गरिरहेको छ ।
बैठकपछि सचेतक परियारले भने, ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन । सरकार भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ। त्यो रास्वपालाई स्वीकार्य छैन ।’