गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार दिउँसाे ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्युटको भूकम्पले करिव ९ हजार मानिसको ज्यान लिएको थियो । गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा ठुलाे क्षति भएकाे थियो ।
करिव १५ सय भन्दा बढि घरधुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुङ्गाले छाएको घर, बाटो भरि ढुंगा बिछ्याइएका सुन्दर गाँउको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।
भुकम्पले सबैभन्दा धेरै क्षति गरेकाे गोरखाको बारपाकमा अहिले मौलिकता मासिएको छ र परिचय फेरिएको छ । आजभोली बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू आउने गर्छन् । सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक घुम्नका लागि नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुङ्गाले छाइएको घरको सट्टा आधुनिक र पक्की घर निर्माण गरिएको छ । ढुंगा छापिएका बाटो मोटर बाटोमा परिणत भएका छन् । ९ वर्ष अगाडि भुकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाँकी छन् भने बारपाकीहरूको दैनिकी सामान्य बन्दै गएको छ।