काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटको पेशी आजलाई तोकिएको छ ।
बिहीबार अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले रिट निवेदन दर्ता गरेका थिए ।
रिटमा मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । नेपाल राष्ट्र बैंक ऐन ०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता ऐनबमोजिमको नभएको हुँदा उक्त पदका लागि योग्य नहुने भन्दै उनको नियुक्ति बदरको माग रिटमा गरिएको छ ।
अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ । ‘अधिकारीले स्नातकोत्तर उपाधि कुन कलेजबाट लिनुभएको हो वा उहाँले चार्टर्ड एकाउन्टेन्टभन्दा फरक अन्य कुन योग्यता हासिल गर्नुभएको छ, सोको जानकारी बायोडाटामा उल्लेख गर्नुभएको छैन,’ रिटमा भनिएको छ ।
गभर्नर अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुँदा नै उनको शैक्षिक योग्यताका विषयमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले सर्वोच्चमा रिट हालेका थिए ।
तर, रिट हालेर पन्तले आफैं निवेदन फिर्ता लिएपछि सर्वोच्चले रिट निवेदनको औचित्य सकिसकेको भन्दै थप आदेश जारी गर्नु नपर्ने फैसला गरेको थियो ।