काठमाडाैँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेल फागुन १२ गते मृत भेटिइन् । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक स्थायी घर भएकी उनी शनिबार बिहान आफ्नै स्कुलको होस्टलमा मृत भेटिएकी थिइन् । तर, उनको मृत्यु अस्वभाविक भएको भन्दै परिवारले निश्पक्ष छानबिनको माग गरेका छन् ।
चितवन प्रहरीले घटनाको ४ दिनसम्म जाहेरी नै लिन नमानेपछि छोरीको पोष्टमार्टम रिपोर्ट पनि प्रभावित हुने डरले पोखरेल परिवारले शालीनको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याएका छन् ।
बाबु दिपेन्द्र पोखरेलका अनुसार आफ्नो छोरीको गालामा २ वटा घाउ भेटिएको र यौनाङ्गमा चोट लागेको जानकारी त्रिवि स्थिति पोष्टमार्टममा खटिएका चिकित्सकले प्रारम्भिक जानकारी गराएका छन् । घटनास्थलको प्रकृति, जाहेरी लिन प्रहरीले गरेको आनाकानी र शिक्षण अस्पतालबाट प्राप्त सूचनाले आफ्नो छोरीको बलात्कारपछि हत्या गरिएको र प्रमाण नस्ट गरेर दोषी बचाउन राज्य संयन्त्र नै लागेको बाबु दिपेन्द्र पोखरेलको आरोप छ ।
सामाजिक सञ्जाल र अधिकरकर्मीहरुको दबाबपछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेल विरुद्ध किटानी जाहेरीपछि उनीहरु पक्राउ परेका छन् ।
यही पृष्ठभूमीमा सिधाकुराले शालिनका बाबु दिपेन्द्रसँग घटनाबारे कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
चितवनको रत्ननगर प्रहरी चौकीबाट मलाई फोन आयो । प्रहरीका इन्स्पेक्टर बताउने एक व्यक्तिले मलाई तपाईंको छोरी मृत भेटिइन् भने । उनको फोन लगत्तै म थचक्कै भुइँमा बसेँ । नगरपालिकाको १० नम्बर वडामा पर्ने एकता शिशु निकेतन विद्यालयको कक्षा–८ मा मेरो १३ वर्षीय छोरी शालिन पोखरेल अध्ययनरत थिइन् । २ वर्षदेखि सो होस्टलमा रहेकी उनको मृत्यु हामीलाई शंकास्पद लागेको छ । त्यस लगत्तै म र मेरो भाइसहित हामी चितवन पुग्यौँ । मैले काठमाडौँबाट जानुअघि भनेको थिएँ त्यो घटनास्थल जे जस्तो अवस्थामा छ केही नचलाउनु ।
काठमाडौंँबाट जाँदै गर्दा स्कुलका प्रिन्सिपलले मलाई फोन गरेका थिए । उनले मलाई कहाँ आइपुग्नु भयो भनेर सोधे । मैले जिउँदो छदाँ त सोधीखोजी गर्नु भएन अहिले किन गर्नु हुन्छ भनेर फोन काटेँ । हामी काठमाडौँबाट घटनास्थल पुग्दा मानिसहरु टन्नै जम्मा भएका थिए । म स्कुलको प्राङ्गणमा पुग्दा खुट्टा टेक्न पनि सकिरहेको थिइँन । म पुग्ने बित्तिक्कै प्रहरीले च्यानल गेट खोल्यो । नानीका सहपाठीहरु, रुम मेटहरु कोही पनि थिएनन् । नानी फेला परेको रुमको ढोका फोरिएको थियो । मैले नानीको रुममेट, विद्यालय प्रशासन, सिडियो र प्रहरी प्रशासन नगर प्रतिनिधि सबै बोलाउनुस् र मृत्युको कारण के हो बताउनुस् भनेर माग गरे ।
नानीको शरीरले भुइँ छोएको थियो । उनको जुत्ता र कपडा पानीमा भिजाइएको थियो । उनी रहेको कोठाको भुइँ सफा गरिएको थियो । यो कसरी भयो भनेर प्रश्न गर्दा प्रहरीले तपाईँ चुप लाग्नुस् भनेर भन्यो । हामीले घटनाको मुचुल्का गर्न दिन्न भन्यौँ । तर, छोरीको लागि न्याय माग्दा मेरो भाइलाई रत्ननगर लगेर थुनियो । भाइमाथि निर्घात कुटपिट गरियो । त्यहीँबाट भरतपुर चौकी पु¥याईयो ।
परिवारका सदस्य नआई कसैलाई छिर्न नदिनु भनेका थियौँ तर हामी नपुग्दै सबै कोठा खोलियो । केटीहरुको होस्टलसँगै पुरुष वार्डेन बस्ने गरेको देखियो । अन्ततः सबैतिर सीसीटीभी छ तर त्यहाँ मात्रै सीसीक्यामेरा छैन । त्यो कसरी भयो ? पहिले नानीहरु भएको ठाउँमा क्यामेरा थियो । तर, पछि क्यामेरा नभएको ठाउँमा नानीहरुलाई सारिएको रहेछ । यो कुरा हामीलाई जानकारी नै दिइएन । यो सबै घटनाक्रम हेर्दा यो सुनियोजित रुपमा घटाइएको घटना हो । यस प्रकरणमा विस्तृत छानबिन गरिनुपर्छ भनेर हामीले माग गर्दा गर्दै चितवनको प्याब्सनले आत्महत्या भनेर विज्ञप्ति निकाल्यो । यो कुरा उसले कसरी भन्न सक्यो । घटना भएपछि हामीलाई नानीका सहपाठीलाई समेत भेट्न दिइएको छैन । उनीहरु सबैजना कहाँ छन् थाहा छैन । हामीलााई किन यस्तो गरियो भन्ने पनि थाहा छैन् ।
हामीले प्रहरी कार्यालयमा घटनाको छानबिनका लागि जाहेरी दिन गयौँ । तर, प्रहरीले माथिको आदेश भन्दै जाहेरी लिन मानेन । जाहेरीमा नाम उल्लेख भएकाको नाम हटाउन चितवन प्रहरीले रातो कलमले घेरा नै लगाएको छ । यस्तै हो न्याय ? घटना गुपचुप लुकाउन खोजिएपछि हामीले छोरीको पोष्टमार्टम रिर्पोट काठमाडौंमा गराउने भनेर शव काठमाडौँ नै लिएर आएका छौँ । त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टम रिपोर्टमा मृत्युको एकदेखि डेढ घण्टाअघि र पछि गालामा चिमोटिएको घाउ देखिएको र यौनाङ््गमा आलो घाउ रहेको जानकारी अस्पताललले हामीलाई मौखिक रुपमा गराएका छन् ।
मेरो १३ वर्षिय छोरीमाथि यो सबै कसरी भयो ? चितवन प्रहरीले यो घटना किन लुकाउन खोज्यो ? यसको जिम्मा कसले लिने ? प्रहरीले ४ दिनसम्म जाहेरी दर्ता गर्न नमान्नुको पछाडीको कारण के थियो । पटक पटक न्यायको माग गर्दा पनि माथिको आदेश भन्दै जाहेरी नलिनु गम्भिर अपराध हो । हाम्रो छोरीको न्यायको लडार्इँमा हामी सबैको साथ खोजिरहेका छौँ ।
(पोखरेलसँग गरिएकाे भिडियो कुराकानीमा आधारित)