कोरिया जाने भाषा परिक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आएका युवाहरुको आन्दोलन भड्कीदाँ २ जनाको ज्यान गएको छ । साथै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा समेत आगजनी भएको छ ।
इपिएस कार्यालयले यसअघि पानी जहाज बनाउने कामका लागि दिइएको भाषा परिक्षामा फेल भएकाहरुलाई अहिले उत्पादनमुलक क्षेत्रका लागि फारम भर्न दिएको थिएन । पानी जहाज बनाउन जाने भाषा परिक्षामा फेल भएका २८ हजार युवाहरुले फेरि उत्पादनमुलक क्षेत्रमा जान परिक्षा दिन पाउनु पर्ने माग गर्दै आएका छन् ।
इपिएस कार्यालयको निर्णयका विरुद्द १८ जना उच्च अदालत पाटन पुगेका थिए । उनिहरुका हकमा अदालतले फारम भर्न दिनु भन्ने आदेश गरेको थियो । उच्च अदालत पाटनबाट आदेश ल्याएका १८ जनालाई मात्रै फारम भर्न दिएपछि अरु युवाहरु आक्रोशित भएका थिए । उनिहरुलाई नियन्त्रण गर्न खोज्दा मुठभेड भएको थियो ।
खासमा एक साता अघि १ लाख ४३ हजार युवाले उत्पादनमूलक क्षेत्रमा जानका लागि कोरियन भाषा परिक्षाको फारम भरेका थिए । त्यस भन्दा अघि पानि जहाज बनाउने काममा जानका लागि भाषा परीक्षा दिएका करिब २८ हजार युवाले भाषा परीक्षा पास गर्न सकेका थिएनन् । उक्त परीक्षामा फेल भएपछि अहिले फेरि उत्पादनमुलक क्षेत्रमा लैजान खोलिएको भाषा परीक्षामा उनीहरुलाई फारम भर्न दिइएको थिएन ।
तर १८ जना युवाहरु भने अदालत पुगेका थिए । उच्च अदालत पाटनले उनिहरुलाई फारम भर्न दिन आदेश गरेको थियो । सोहि अनुसार शुक्रबार १८ जना युवा फारम भर्न ईपिएस शाखाको कार्यालयमा पुगेका थिए । सँगै सिप बिल्डीङका लागि भएको भाषा परीक्षामा फेल भएकाहरु पनि कार्यालय पुगे । अदालत पुगेहरुले मात्रै फारम भर्न पाएपछि अन्य युवाहरु आन्दोलन गर्न थाले । आक्रमक युवाहरु इपिएस कार्यालय परिसरबाट बालकुमारी सडकमै निस्किएका थिए । सोही समयमा मन्त्री ज्वालाको गाडी आयो ।
युवाहरुले गाडी रोके, कोहीले टायरको हावा फाल्न लागे भने कोहीले आगो लगाए । त्यसपछि ग्वार्को क्षेत्र तनावग्रस्त बन्यो । प्रहरीले लाठी असुरग्याससँगै गोली चलायो । आन्दोलनमा आएका दर्जनाँै युवाहरु घाइते छन् भने त्यतीकै सख्ंयामा प्रहरी नियन्त्रणमा छन् ।
आन्दोलनमा सहभागी मध्ये दुई युवाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २१ वर्षीय सुजन राउत र विरेन्द्र शाह रहेका छन् । आन्दोलन क्रममा ढलेका सुजनको शरिरमा रातो दाग देखिएको छ । किष्ट अस्पतालमा उपचनारका क्रममा उनको ज्यान गएको थियो भने विरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।