काठमाडौँ । कान्स फिल्म फेस्टिवलमा भाग लिन गत जेठ १ गते काठमाडौँ महानगरपालिका मेयर बालेन शाह फ्रान्स उडे । उनीसँगै उनका सल्लाहकार कुमार ब्यञ्जनकार र सुनिल लम्साल पनि सँगै फ्रान्स गएका थिए। व्यञ्जनकार र लम्साल काठमाडौँ महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
तर,बालेन फ्रान्समा भएको समयमा बञ्चरेडाँडाका स्थानीयले काठमाडौँको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरे। नजानिदाे तरिकाबाट फाेहाेर बाेकेका ट्रकलाई फाेहाेर फाल्न राेकेपछि याे विषय मेयरलाई रिपाेर्टिङ भयाे। महानगर स्राेतका अवराेधका कारण पछिल्लाे ४ दिनदेखि काठमाडाैँका केही स्थानहरुमा फाेहाेर उठ्न सकेकाे छैन् ।
कान्सबाट सोमबार बिहान बालेन काठमाडाैँ आइपुगे । बालेन फर्किएपछि उनलाई बञ्चरेडाँडामा फोहोर फाल्न रोकिएको विषयमा थप स्पष्ट पारियाे ।
धादिङ र नुवाकाेटका तीन राजनीतिक दल एमाले, माओवादी र कांग्रेसका नेताहरुको योजनामा बालेन नभएको समयमा फोहोर फाल्न अवरोध गरिएको रिपोर्टिङ भएको महानगर स्रोतले बतायो । ‘बालेन नभएको बेला यो गर्मीमा काठमाडौँको फोहोर फाल्न अवरोध गर्ने र काठमाडौँलाई दुर्गन्धित बनाएर बालेनलाई अपजस खेप्न बाध्य बनाउने योजना बनेको रहेछ । मेयरसाबलाई त्यही रिपोर्टिङ भयो ।’ महानगर स्रोतले सिधाकुरालाई बतायो ।
राजनीतिक दलले चाहेमा २ मिनेटमै फोहोर व्यवस्थापन गर्न रोक्ने र २ मिनेटमै सहमति हुँदै आएको विषयमा बालेन जानकार छन् । फोहोर व्यवस्थापनमा सधैँ राजनीति हुन थालेपछि बालेनले अजित भएर आज दिउँसाे ४ ट्रक फोहोर भरेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पार्टी अर्थात नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय रहेको स्थान पेरिस डाँडामा पठाए ।
पार्टी कार्यालयमा खन्याउन बालेनले फाेहाेर पठाएकाे कुरा पेरिस डाँडाले प्रहरीलाई खबर गर्याे । माओवादीको पार्टी कार्यालयमा खन्याउन टनाटन फोहोर बोकेर गएका चारवटा ट्रकका चालकलाई पक्राउ गरियो । त्यसपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा आक्राेसित हुँदै स्टाटस लेखे ।
'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन, सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन !'
पेरिस डाँडाबाट फाेहाेर बाेकेका ४ ट्रक सहित त्यसका चालक पक्राउ परेकाे महानगरकाे दाबी छ । तर, काठमाडाैँ प्रहरीले भने यस्ताे नभएकाे दाबी गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडाैँका प्रवक्त्ता एवम् प्रहरी उपरिक्षक नवराज अधिकारीकाअनुसार परिसर हातामा रहेका ४ वटा फाेहाेर बाेकेका ट्रक र त्यसका चालकलाई महानगरकाे वातावरण विभागमा बुझाइएको छ।
'परिसर हातामा रहेका ४ वटा फाेहाेर बाेकेका ट्रक र त्यसका चालकलाई महानगरकाे वातावरण विभागमा बुझाइएको छ,' प्रवक्त्ता एवम् प्रहरी उपरिक्षक नवराज अधिकारी भने, 'पक्राउ गरिएकाे विषयमा म जानकार छैन् ।'