काठमाडौँ । इजरायलमाथि इरानले आक्रमण गरेको ८ घण्टा बितेको छ । नेपाली समय अनुसार रातीको बिहान १ बजेर ४५ मिनेट जाँदा इरानले सयौँ ड्रोन र मिसाइल इजरायलको आकासमाथि प्रहार गरेको इरानको इभुलुसनरी गार्ड (आइआरजिसी) लाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
इजरायली भूमिलाई लक्षित गर्दै इरानले सैन्य हमला गरेको यो पहिलो पटक हो । आक्रमणपछि इजरायलकाे राजधानी तेलअभिव र वेस्ट जेरुसेलममा बिस्फोटनका आवाजहरू सुनिएका छन् । विभिन्न ७२० लोकेसनमा हवाई हमलाको आवाजहरू सुनिएका छन् । इजरायली डिफेन्स फोर्सले केही ड्रोन र मिसाइल खसालेको दाबी गरेका छन् ।
इजरायली सैन्य अधिकारीहरूकाअनुसार इरानले इजरायली आकाशमा २ सय हाराहारी किलर ड्रोन, ब्यालेस्टिक मिसाइल र क्रुज मिसाइल प्रहार गरेका छन् ।
इजरायलको दक्षिणी सैन्य बेसमा इरानको आक्रमणका कारण सानो भौतिक क्षति पुगेको बताइएको छ । इजरायली सेनाका प्रवक्ता डानियल हगारीले हालसम्म आक्रमणका कारण एक महिला घाइते भएको जानकारी प्राप्त भएको जानकारी दिएका छन् ।
इजरायलको होम फ्रन्ट कमान्डले आफ्ना नागरिकलाई नजिकका बम सेल्टरमा बस्न अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघका लागि इरानका मिसन प्रमुखले सिरियामा इरानी वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफ दिइएको बताएका छन् ।
संयुक्त राष्ट्र संघले इजरायलमाथि इरानको आक्रमण लगत्तै आपत्कालिन सुरक्षा परिषद्को बैठक बोलाएको छ । यो भनेको नेपाली समयअनुसार आइतबार दिउँसो १ बजेर ४५ मिनेट को हो ।
इरानको हमला लगत्तै इराक, जोर्डन, लेबनान र इजरायलले हवाई क्षेत्र अस्थायी रुपमा बन्द गरेका छन् । ति मुलुकका सयौँ हवाई सेवा प्रभावित बनेका छन् ।
-अन्तराष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा ।