काठमाडाैँ । प्रेस चौतारी नेपालले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको ’द डार्क फाइल’ शृङ्खला अन्तर्गत समाचार सामग्री हटाउन सर्वोच्च अदातले दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
प्रेस चौतारीका उपमहासचिव शुरोजंग पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १९ ले सञ्चारको हकअन्तर्गत विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृष्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने अधिकार सुनिश्चत गरेको स्मरण र प्रकाशन, प्रसारण गरेबापत प्रतिबन्ध नलगाउने, छापा वा अन्य सामग्री जफत नगर्ने, दर्ता खारेज नगर्ने व्यवस्था गरेको अवगत नै रहेको बताएका छन् ।
त्यस्तै चौतारीले सर्वोच्च अदातलले अवहेलनासम्बन्धी मुद्दामा निवेदनको निरूपण नभएसम्म सिधाकुरा डटकमलाई कार्यक्रम उत्पादन, प्रसारण, पुन प्रसारणलगायत सार्वजनिक गर्न नपाउने गरी दिएको आदेशले संविधानप्रदत मौलिक अधिकारका रुपमा स्थापित प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको ठहर गरेको छ ।
प्रकाशन र प्रसारण भएका समाचार सामग्रीमा चित्त नबुझे नियमन र कारबाही गर्ने निकाय हुँदाहुँदै अदातलले गरेको आदेशले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रता पक्षधर सबैलाई चिन्तित तुल्याएको प्रेस चौतारी नेपालको ठहर छ । त्यस्तै चौतारीले अदालतलाई उक्त आदेश फिर्ता लिन आग्रह गरेको छ भने लामो बलिदान र संघर्षबाट प्राप्त प्रेस स्वतन्त्रताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउनसमेत तयार रहेको जानकारी गराएको छ ।