असोज ३, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएर जेल परेका चार जना रिहा भएका छन् ।
संविधान दिवस पारेर सरकारले चारै जनाको बाँकी कैद मिनाहा गरेको हो । कैलाली कारागारमा रहेका ४१ वर्षीय वीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी कारागारमुक्त भएका हुन् । नाबालक श्रवण चौधरी पनि बालसुधार गृहबाट मुक्त भएका छन् ।
उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन् ।
थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो ।
त्यही घटनामा दोषी ठहर भएका रेशम चौधरीले पनि गणतन्त्र दिवसका दिन आम माफि पाएका थिए ।
सर्वोच्च अदालतले टिकापुर घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भनेको छ ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अहिले रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ भुमिसुधार मन्त्री छिन् ।