
रौतहट।रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताला खोल्न लागेपछि अवस्था तनावग्रस्त भएको छ। बिहिबार बिहान नगरपालिकाका मेयरले आफ्ना समर्थक र स्थानीय लगेर कार्यालयमा लगाएको ताला खोल्ने प्रयास गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो ।
नगरपालिकामा एक महिनादेखि लगाइएको ताला खुलाउने र बन्द गराउने पक्ष आमनेसामने हुँदा नाराबाजीका साथै झगडाको स्थित समेत सिर्जना भएको छ । होहल्ला र भिड बढ्दै गएपछि नगरपालिका परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
गत पुस ९ गते उपमेयर रिता देवी यादवको नेतृत्वमा वडाअध्यक्ष सहित जनप्रतिनिधिले मेयर अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैलीको विरोध गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए। लामो समयदेखि कार्यालयमा ताला लगाउँदा नगरपालिकाबाट सम्पादन हुने कार्य र प्रवाह हुने सेवा अवरुद्ध भएका छन् ।
