
काठमाडाैँ । गुह्येश्वरी पार्कको दुरावस्थाबारे सिधाकुरामा समाचार प्रकाशन भएको केही घण्टामै काठमाडौँ महानगरले एक्सन लिएको छ । हामीले पार्कको दुरावस्थाबारे बुधबार समाचार प्रकाशन तथा प्रसारण गरेका थियौँ । त्यसको २४ घण्टा पनि नबित्दै पार्कमा उल्लेख्य परिवर्तन देखिएको छ ।
महानगरको ७ करोड बढी लगानीमा बनेको वडा नं ६ को बागमती नगर सुविधा बस्तीको सो सार्वजनिक पार्क स्थानीय सरकारको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण खण्डहर बनेको थियो ।
समचार प्रकासनपछि महानगरपालिका मातहतको वातावरण विभागको समन्वयमा उक्त पार्कको सरसफाइ भएको हो । फोहोर र झाडीले ढाकिएको सो पार्क निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा र स्थानीय सरकारले समेत चासो नदिँदा अलपत्र थियो । तर समाचारमार्फत हामीले सो विषय उठान गरेपछि महानगरपालिकाले सो पार्कको झाडी फाँडेको छ, फोहोर फालेको छ ।

महानगरले बनाएको सो नमुना पार्कमा रहेका शौचालयको निशाना थिएन । शौचालयमा राखिएका महँगा कमोट र बेसिन फुटाइएका थिए । दिशापिसाब यत्रतत्र बाहिरै गरिएको थियो । अरु त अरु शौचालयमा बनाइएका पाटेसन भत्केर मिटिङ हल जस्तो बनेको थियो । तर महानगरले त्यो सबै फोहोर सरसफाइ गरेको छ भने शौचालय पुरानै शैलीमा फर्काउने बताएको छ । त्यस्तै पार्कमा रहेको फाउन्टेन पुनः मर्मत गरिने भएको छ, पार्कमा फुल, बिरुवा रोपिने समेत भएको छ ।

यसअघि वडाका प्रतिनिधिले काठमाडौँ महानगरपालिकाले सुरक्षाकर्मी नदिँदा पार्कको सो हविगत भएको बताउँदै आएका थिए । सिधाकुराले सो विषय उठान गरेसँगै अब महानगरले सो पार्कको सुरक्षाका लागि ५ जना नगर प्रहरी परिचालन गर्ने भएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले सो पार्कको नियमित सरसफाइ र संरक्षण समेत गर्ने बताएको छ ।
आफूहरूको करले बनेको सो पार्क वर्षौँदेखि अलपत्र र फोहोर भएको भन्दै स्थानीयले सिधाकुरासँग गुनासो पोखेका थिए । समाचार प्रकाशन भएको भोलिपल्टै पार्कमा उल्लेख्य परिवर्तन देखेपछि स्थानीयहरू खुशी भएका छन् । साथै उनीहरूले स्थानीयको गुनासो सम्बोधनमा तदारुकता देखाएको भन्दै काठमाडौँ महानगरलाई धन्यवाद दिएका छन् ।



सम्बन्धित समाचार :
७ करोड खर्चेर निर्माण गरिएको सुविधा सम्पन्न पार्क खण्डहर बन्दै