११ भदौ, काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्नाविरुद्ध केही पत्रकार र चलचित्रकर्मी हात धोएर लागेको आरोप लगाएकी छिन् । अभिनेता सारुक ताम्रकार आफ्नै घरमा मृत भेटिएपछि उनको नाम जोडेर बिभिन्न टिकाटिप्पणी भएका थिए ।
उनले त्यसको खण्डन गर्दै प्रहरीको अनुसन्धालाई प्रभाव पार्न नहुने मनसायले केही नबोलेको उल्लेख गरेकी छिन् । ‘तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे, आत्महत्या जस्तो संवेदनशिल बिषयलाई ग्लोरीफाई गर्नु उचित हुँदैन । पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरूलाई सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो । तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूले यो धटना पछि भ्यूजका लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो, यस्ता तथ्यहीन समाचार प्रति म घोर भर्त्सना गर्दछु।’
साथै उनले कालो बोका र बुटीको विषयलाई फण्डा बनाउने प्रयास भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘जहाँसम्म कालो बोका र बुटी को कुरालाई फण्डा बनाइएको थियो, अहिले को एक्काइसौँ सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कत्तिको युत्तिसंगत हुन्छ होला रु यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबै ले मनन गरौँ, पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहाँलाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइसकेको छ ।’
उनले आफू पनि बिरामी रहेको र आफ्नो फोन दादाले उठाउने गरेको बताएकी छिन् । उनले यो स्टाटस विवाद सुरु भएपछि नै लेखेको भएपनि प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उल्लेख गरेकी छन् ।
साथै उनले आफू देश छोडेर क्यानडा गएको विषयमा पनि कुनै सत्यता नभएको बताएकी छिन् । उक्त विषयमा प्रहरीले आफ्नो पार्सपोर्ट हेर्दा भिसा लागेको कुनै प्रमाण नदेखेपछि प्रहरीनै अचम्मित भएको बताएकी छिन् ।