यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले जनाएको छ ।
एचआरडब्लुका अनुसन्धानकर्ता नादिया हर्डम्यानले विज्ञप्तिमार्फत ‘साउदी अधिकारीहरूले उक्त दुर्गम सीमा क्षेत्रमा सयौं आप्रवासी र शरण खोज्नेहरूको हत्या गरिरहेको बताएका हुन् ।
‘साउदी अरबको छबि सुधार्न व्यावसायिक गल्फ, फुटबल क्लब र प्रमुख मनोरञ्जन कार्यक्रमहरू किन्न अर्बौँ खर्च गर्दैमा यी भयानक अपराधहरूबाट ध्यान हटाउनु नहुनेमा समेत हर्डम्यानले जोड दिएका छन् ।
न्युयोर्कस्थित उक्त समूहले साउदी अरब र यमनमा इथियोपियाली आप्रवासीविरुद्ध करिब एक दशकदेखि भएको दुव्र्यवहारको अभिलेखीकरण गर्दै आएको छ । तर पछिल्लो हत्या ‘व्यापक र व्यवस्थित’ भएको बताइएको छ ।
सन् २०२२ को पहिलो चार महिनामा दक्षिणी साउदी अरब र उत्तरी यमनमा साउदी अरबका सुरक्षा फौजले सीमापार गोलाबारी र साना हातहतियारबाट गरेको आक्रमणमा करिब ४३० आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत वर्ष नै बताएका थिए ।
यस विषयमा साउदी अरबका अधिकारीहरूले कुनै पनि प्रतिक्रियाको दिएका छैनन् । साथै एचआरडब्ल्यूको रिपोर्टले साउदी गृह र रक्षा मन्त्रालय, मानव अधिकार आयोग र उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी विद्रोहीहरूलाई पठाइएको पत्रको कुनै प्रतिक्रिया नभएको बताएको छ ।
सन् २०१५ मा साउदी अधिकारीहरूले हुथी विद्रोहीलाई सत्ताच्युत गर्न गठबन्धन परिचालन गरेका थिए, उनीहरूले अघिल्लो वर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबाट यमनको राजधानी साना कब्जा गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घले यमनको युद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय अवस्थाको रूपमा वर्णन गरेको छ ।
तर एचआरडब्ल्यूले वर्णन गरेका धेरै दुव्र्यवहारहरू अप्रिल २०२२ मा लागू भएको युद्धविरामको क्रममा भएको थियो । गत अक्टोबरमा आधिकारिक रूपमा युद्धविराम सम्झौता समाप्त भएपनि धेरै हदसम्म यसले यमनमा शान्तिका लागि काम गरिरहेको छ ।