जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।
सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।
यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नतीमा सम्बन्धित निकायको ध्यान जान नसक्दा वषौँदेखि कर्णालीका नागरिकले दुख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौँ यात्रु अलपत्र परेका छन् ।