नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याँकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।
राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र चेतनै नभएका मुर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालिन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवासंघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै उनले युवा संघलाई धन्यवाद समेत दिएका छन् ।
त्यस्तै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सल्बलाउन थालेको आरोप लगाए । वर्तमान सरकारको जग नै नभएका कारण सानो समूहको प्रदर्शनबाट तर्सेको उनको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उनले बताए ।
त्यस्तै अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्नेमा जोड दिए ।