काठमाडौँ । साथीले दिएको एउटा पुरानो झोलामा एक जोर पुरानै कपडा र नेपाल फर्किन चाहिने पासपोर्टसहितको कागजात बोकेर सर्लाहीका अवदेश राउत गत साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिए।
घरमा साना दुई वटा छोरीहरू छन् । बाबा विदेशबाट आउँदा खेल्ने डोजर लिएर आउनुहुन्छ भनेर उनीहरु आमालाई भन्छन् । तर, अवदेश जीवनमा लुटिनु र ठगिनु पर्नेजति सबैबाट ठगिएर रित्तो हात जन्मेको देश ओर्लिए । परिवारका लागि उनले ल्याउने कुरा भनेकै उनी सकुशल नेपाल फिर्नु हो । तर, उनी यो कुरा आफ्ना छोरीहरूलाई बताउन सक्दैनन् ।
सर्लाहीका अवदेश राउत एक वर्षअघि जुन लुगा लगाएर सुन्दर भविष्यको सपना बोकेर उत्साहित हुँदै मलेसिया उडे, गत साता उही पहिरनमा नेपाल झरे ।
परिवारलाई खुसी पार्ने सपना त बाँकी रहेन नै वैदेशिक रोजगारीको सपना पछ्याउँदा लागेको साहुको ऋण, एजेन्टको बेइमानी, मेनपावरको ठगी, मलेसियाको घना जङ्गलमा सर्पसँग सङ्घर्ष र तुच्छ व्यवहार गर्ने सरकारी निकायको अमिलो भोगाइ मात्रै अब उनीसँग बाँकी छ ।
गाउँकै बिनोद भन्ने एजेन्टले मलेसियामा कामको राम्रो अफर आएको भन्दै अवदेशलाई डेढ वर्ष अघि वैदेशिक रोजगारीको अफर सुनाए । काठमाडौँको सुफी इन्टरनेश्नल सर्भिस मेनपावरको आफू एजेन्ट रहेको भन्दै उनले आश्वस्त पारेपछि अवदेशले आफ्नो नामको घरजग्गा साहूलाई बन्दकी राखेर साढे ३ लाख रुपैयाँ जोह गरे । एक लाख रुपैयाँ गाउँकै एजेन्ट बिनोदले लिए, साढे २ लाख रुपैयाँ सुफी इन्टरनेश्नलका सञ्चालक बिन्देश्वर यादवले बुझे ।
घरमा बुढि आमा र श्रीमतीलाई केही वर्ष मलेसियामा काम गरेपछि घरको धुरी फेर्ने आशा देखाए, हुर्किँदै गरेकी छोरीहरूलाई राम्रो स्कुल पढाउने आशा देखाएर अवदेश मेनपावर र एजेन्टले भनेकै बाटो मलेशिया पुगे ।
‘वनको काम गर्ने हो, १५ सय रिगेंट, नेपाली करिब ४७ हजार रुपैयाँ तलब, ८ घण्टा भन्दा बढी काम गरे ओभरटाइमको पनि पैसा आउँछ, खाने बस्ने सुविधा पनि हुन्छ भनेर एजेन्ट र मेनपावरले भनेका थिए,’ अवदेश भन्छन्, ‘जब मलेसिया पुगेँ, कम्पनीले मलाई जङ्गलतर्फ लग्यो । शहरबाट निकै टाढा घना जङ्गलको बिचमा रहेको टहरामा पुगेपछि अन्य नेपाली र बङ्गलादेशीहरू भेटिए । उनीहरु त्यही काम गरिरहेका थिए । उनीहरूको काम जङ्गलमा झाडी फँडानी गर्ने, सुकाउने केमीकल छर्ने थियो ।’
अवदेश झस्कीए, घना जङ्गलमा यस्तो काम गर्नुपर्ला भन्ने उनले कल्पनानै गरेका थिएनन् । पानी र घाम बल्लबल्ल ओत्ने छाप्रोमा बास बस्नुपर्ला भन्ने उनले सोचेकै थिएनन । खाना खाने सामान किन्न महिना दुई महिनामा एक सय किलोमिटर टाढाको बजार झर्नुपर्ला भन्ने कुरा अवेदशलाई न एजेन्टले भनेका थिए, न मेनपावरले । तर, त्यहाँ पुगेपछि उनले नसोचेको मात्रै भयो ।
अवदेशले घरमा बुढि भएकी आमा सम्झिए, हिँड्ने बेलामा मैलो पछ्यौरीले मुख छोपेर छिट्टै फर्कीनु भन्दै सुँक्सुकाएकी श्रीमती सम्झिए, अनि बाबा आउँदा डोजर ल्याइदिनु भन्दै बाटो छेक्न आएकी छोरीहरू सम्झिए ।
‘विदेश आउन ऋण लिएको साढे तीन लाख सम्झीएँ । सबथोकको समाधान केवल पैसा मात्रै थियो र त्यसको जिम्मेवार म मात्रै थिएँ,’ उनले भने ।
परिस्थितिले अब अवदेशलाई त्यही झाडी फाँड्न होमिनुको विकल्प थिएन, हात हतियार लिएर जङ्गल छिरे । मधेशमै भए पनि आफूले त्यती ठुलो जङ्गलभित्र अहिलेसम्म नछिरेको उनी बताउँछन् । पाइलैपिच्छे बेरिएका ठुलठुला सर्प सम्झिँदा अहिले पनि अवदेशको आङ सिरिङ्ग हुन्छ ।
काम गरेको ३ महिनापछि पहिलो पटक अवदेशको तलब आयो । तर उनी छाँगाबाट खसेजस्तै भए । उनलाई मासिक १५ सय रिंगेट भनेर सम्झौता गराइएको थियो तर कम्पनीले ५ सय रिंगेट अर्थात नेपाली रुपैयाँ १५ हजार रुपैयाँ मात्रै थमाइदियो ।
‘म रुनु न हाँस्नु भए, सुरुमा ३ हजार रिंगेट तलब हुने भनेर एजेन्ट र मेनपावरले सुनाएपछि मात्रै मैले उनीहरुलाई साढे ३ लाख बुझाएको थिएँ,’ उनी भन्छन् ‘हिँड्ने बेला उनीहरुले १५ सय रिंगेटको सम्झौता पत्र र श्रम अनुमती हातमा हालिदिएका थिए तर मलेशिया पुगेपछि कम्पनीले ५ सय रिंगेट मात्रै दियो।’
उनले तत्कालै घर फर्किन खोजे, कम्पनीलाई फोन गरे, म्यानपावर फोन गर्दा उल्टै हप्किदप्किको सामना गर्नुपर्यो । नेपाल फर्किने भए कम्पनीलाई पैसा तिर्नुपर्छ भन्ने सर्त मेनपावरले राख्यो ।
फेरी पनि उनीसँग विकल्प थिएन, चुपचाप जङ्गल तिर लागे । महिनाभरि काम गरेर आएको पैसाले महिनाभर खाने दाल चामल किनेर नेपाल पठाउन ८–९ हजार बाँकी रहन्थ्यो । आफूसँग पुगेका अन्य तीन नेपाली कम्पनीले ठगेको थाहा पाएपछि भागेका थिए, तर अवदेश पैसाकै पिरले भाग्न सकेनन् ।
दिन बिते महिना बिते, झण्डै वर्ष नै बित्न लाग्यो तर अवदेशले भनेको तलब पाएनन् । मेनपावरमा हारगुहार गरिरहँदा उनको तलब मुश्किलले एक हजार रिंगेटसम्म पुग्यो तर अझै शर्तअनुसार भएन । यता घरमा साहुले अत्याउन ऋणका लागि ताकेता बढाए । साहुले घरबारी बेचेर भएपनि पैसा फिर्ता गर भन्न लागेपछि परिवारमा झगडा सुरु भइसकेको थियो ।
‘दिनभर काम गरेर टहरोमा फर्किएर घरमा फोन गर्दा श्रीमती परिवारकै सदस्यहरु झर्कीन थाले । मेरै कारणले तिमीहरु लाई दबाब परेको छ भनेर सम्झाउँथे,’ अवदेश भन्छन्, ‘एक दिन श्रीमतीसँग भिडियो कलमा कुरा गरिरहेकै बेला, सानी छोरीले मेलामा जान आमासँग पैसा मागिन् । श्रीमतीले पैसा नभएको रिसमा छोरीलाई कुटिन् । छोरी रोइन् । मेरो मुटु गाँठो पर्यो । फोन राखेँ र मलेसियाको जङ्गलको बिचमा चिच्याएर रोए ।’ मलेसियाको बसाइले जीवन सुध्रिने छाँट नदेखेपछि उनले नेपाल फर्किन सुफी मेनपावरका सञ्चालक विन्देश्वर यादवलाई हारगुहार गरे । उनले उल्टै हप्काउने र मलेसियाको कम्पनीलाई भनेर दबाब दिन थाल्यो । नेपाल फर्किन कम्पनी र मेनपावरले नदिएपछि उनले घरमा आमालाई फोन गरेर काठमाडौँ जान भने ।
वैदेशिक रोजगारीमा गएर छोराले परिवारको जीवन सुखमय बनाउँछ भन्ने सोचेकी ६७ वर्षकी आमा मानती रावत छोरा फिर्ता ल्याउन काठमाडौँ आइन । मैथिलि भाषा बाहेक अरु भाषा बोल्न, बुझ्न नसक्ने मनिता ५ हजार रुपैयाँ ऋण खोजेर काठमाडौँका लागि बस चढिन् । काठमाडौँ आउँदा खाने रोटी र चिउरा मनिताले घरबाटै पोको पारेर आएकी थिइन् ।
गौशालामा झरेपछि गाउँकै केही यूवाले वैदेशिक रोजगार विभागको कार्यालयसम्म पुर्याइदिए । छोराका उद्धारका लागि विभाग पुगेकी उनलाई कर्मचारीले ज्युँदो हो कि मरेको उद्दार गर्नु पर्ने भनेर सोधे । मानतीले ज्युँदो छोराको उद्धार गर्नुपर्ने भनेपछि एक कर्मचारीले ढोकैबाट मेनपावरमा भन्नु भनेर निवेदन नै दर्ता नगरी फर्काइदियो ।
मेनपवारले मानती देवीलाई भेट्न पनि मानेन । मानती निराश भएर सर्लाही फर्कीन् । उता अवदेश आत्तिए । एक महिना पछि मानती देवी फेरी काठमाडौ आइन् । दोस्रो पटक भने वैदेशिक रोजगार विभागले उनको निवेदन दर्ता गरायो ।
विभागले मेनपवारका प्रतिनिधिलाई बोलायो । आमासँग छलफल गरायो । पहिले नै अवदेशलाई झुक्याएको मेनपावरकै पक्षमा पुग्नेगरी विभागले मिलापत्र गराइदियो । विभागमा भएको मिलापत्रमा लेखियो,‘अवदेशलाई मेनपावरले कम्पनीलाई भनेर स्वदेश फर्काइदिने, त्यसको खर्च व्यहोर्ने तर नेपाल फर्किएपछी अरु कानुनी प्रक्रिया गर्न नपाउने ।’
मानतीले मिलापत्र नगर्ने भनेर अडान लिएकी थिइन् । तर यो मिलापत्र नभएर अवदेशलाई नेपाल फर्काउने कागज हो भनेपछि लेख्न पढ्न नजानेकी मानतीले औँठा छाप लगाइन् ।
मिलापत्र गरेपछि पनि मेनपावरले फर्काउने प्रक्रिया सुरु गरेन् । बरु अवदेशले काम गरेको कम्पनीमा निरन्तर दबाब दिएपछि हरेक महिना उनको तलबबाट काटिएको रकमबाट टिकट काटिदिने भयो । आफ्नै तलबबाट काटिएको पैसाबाट कम्पनीले काटिदिएको टिकटबाट उनी नेपाल फर्किए ।
विमानस्थल झर्नासाथ अवदेशले आफूलाई पठाउने एजेन्ट बिनोदलाई फोन गरे । बिनोदले आफू भारतमा भएको र सबै पैसा म्यानपावरले फिर्ता गर्ने भन्दै फोन राखे, त्यसपछि अवदेशको फोन ब्लक गरे ।
अवधेशले म्यानपवार सञ्चालकलाई फोन गरे । मेनपावर सञ्चालकले फोन उठाउन छोडे । वैदेशिक रोजगार विभागमा पुग्दा, विभागले यसअघिनै अवदेशकी आमाले औँठा छाप लगाएको कागज देखायो, जहाँ लेखिएको थियो, नेपाल फर्किएपछी कुनै कानुनी प्रक्रियामा जान नपाइने ।
अवदेश आत्तिए, आमालाई फोन गरे । आमाले आफूले मिलापत्रमा नभई, नेपाल फर्काउने कागजमा औँठा छाप गरेको सुनाइन् । आमा फेरी ५ हजार ऋण थपेर त्यही राती काठमाडौँका लागि हिँडिन्, कमाउन विदेश गएको छोरो फर्काउन काठमाडौँ धाएकी मनिताको यो तेस्रो पटक थियो ।
विदेशबाट आएको छोरालाई काठमाडौँमा अस्तव्यस्त अवस्थामा देख्दा मनिता भावुक थिइन् । ‘साहुले भएको घरजग्गा बेचेर पैसा फिर्ता गर भन्दैछन् । नातीनिहरु कसरी हुर्काउने ?’ उनले भनिन् ।
अवधेशलाई विदेश पठाउने मेनपावर कम्पनीका सञ्चालक भने यी कुरा सुन्नै चाँहदैनन् । उनले अवदेसलाई मेनपावरले फिर्ता बोलाएको भन्न सम्म भ्याए । साथै नेपाली भाषा बोल्न बुझ्न समेत नसक्ने मनिताले मिलापत्र हेरेरै औँठा छाप लगाएको भन्दै जहाँ जे गर्न सक्छन् गरुन् भन्ने चुनौती दिए ।
पैसा तिरेर मलेसिया गएको छोराले सम्झौता अनुसार काम पाएन भन्दै आएकी वृद्धालाई वैदेशिक रोजगार विभागले कानुनी प्रक्रिया अघि नबढ्ने सर्त राखेर औँठा छाप लगाइदिएको थियो ।
विभागले पनि मेनपावरकै पक्ष लिएपछि मनिता देव निरिह छिन् । छोरालाई नेपाल फर्काउने न्यायको लडाइमा ६७ वर्षिय मनितादेवी थाकेकी छिन् ।