८ असोज, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।
ग्रेटहल अफ दि पिपलमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयाममाथि छलफल भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण पनि फलदायी भएको र दुई देशबीचको सम्बन्ध फेरी नयाँ उँचाइमा पुग्ने विश्वास व्यक्त गरेको जनाइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई समेत दिएका छन् ।
अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारेको बताइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको बताए ।
अध्यक्ष चाओले नेसनल पिपल अफ कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरेको राससले जनाएको छ ।