५ भदौ, काठमाडौं । संसद खोल्ने विषयमा दलहरु सहमति नजिक पुगेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा सर्वदलीय बैठकमा भएको छलफलका बारेमा देउवाले जानकारी गराएका छन् ।
साउन १० गतेदेखि लगातार संसद अवरोध रहँदा कांग्रेसभित्रै पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेको थियो ।
तर यो बिचमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानबिन समिति गठन गर्नुपर्ने आवश्यक नरहेको निर्णय गरेको थियो । संसदीय दलको निर्णय विपरित सर्वदलीय बैठकमा उच्च स्तरीय समिति बनाउन कांग्रेस सहमत भएपछि संसदीय दलमा हुनसक्ने बिरोधलाई मध्यनजर गर्दै सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
हिजो बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा समझदारी भएको थियो । समिति भने आज बस्ने सर्वदलीय बैठकले बनाउने छ ।