३० भदौ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिवार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते बुधबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् ।
त्यसको अघिल्लो दिन अर्थात मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
अमेरिकामा रहँदा प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।
त्यस्तै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन्।
अमेरिका भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।