नेपालीलाई रुस पुर्याएर रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उक्त कार्यमा संलग्न ११ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ गरेकाहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।
काठमाडौँमा विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट राहदानी, भिसा लगायतका कागजातहरु बरामद गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । त्यस्तै उनीहरुबाट ठूलो मात्रामा रकम समेत बरामद भएको छ ।
उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गर्न अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्र परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका छ नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेका थिए ।
पछिल्लो समय सयौँ नेपालीहरु अवैध बाटो हुँदै रुसी सेनामा भर्ति हुनका लागि रुस गइरहेका छन् । नेपालबाट विद्यार्थी भिसामा उनीहरुलाई रुस पुर्याएर रुसी सेनामा भर्ति गराउने गिरोहहरु सक्रिय रहेका समाचारहरु प्रकासित भएपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र बनाएको थियो ।