महोत्तरी । महोत्तरीको मटिहानीमा बुधबार भएको आगलागीमा परेर आर्थिक तथा भौतिक क्षति व्यहोरेका मटिहानीवासीमा बिचल्ली उत्पन्न भएको छ ।
बुधवार भएको आगलागीको क्षतिको तथ्यांक संकलन र पीडितहरूले पाउनुपर्ने राहत वितरणको सुरसार हुनै लाग्दा बिहीवार बिहानै मटिहानी–९ सिमरदहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा भएको आगलागीको अर्को घटनाले मटिहानी वासीमा झन भय उत्पन्न गरिदिएको छ ।
बुधवार दिउँसो १ बजे सल्केको आगो अप्रत्याशित ढङ्गले सल्कँदा स्थानीयले के गर्ने के नगर्ने यकिन गर्न सकेनन् । मटिहानीको जरलहवा बस्ती जलिरह्यो, स्थानीय रोइकराइ गरिरहे, अधिकांश पशुचौपाया आगोले खरानी भए । जरलहवा बस्तीमा भएको आगलागीमा मात्र परेर ५ बाख्रा र २ सुंगुर जलेर नष्ट भएका थिए ।
मटिहानीकि अमिना खातुन आफ्नो घरमा रहेको केही पनि जोगाउन नसकेको बताउँछिन् । तेजपात बेचेर आफ्नो घरको आवश्यकता पूर्ति गर्दै आइरहेकी अमिना अहिले घरबारविहीन भएकी छिन् । घरभित्र रहेका सबै सामान खरानी भएपछि उनी अहिले मानसिक तनावमा पुगेको बताउँछिन् ।
‘बालबालिकाको विद्यालयको पोशाक, किताब अनि आफूले आर्जन गरेर जोगाएको थोरै पैसा, गरगहना र बसोबास का लागि आवश्यक सबै सामग्री पूर्णरूपमा आगोमा नष्ट भएपछि आफ्नो र आफ्नो बालबालिकाको भविष्य अब के हुनेहोला ’, उनी सुस्केरा हाल्छिन् ।
जरलहवा बस्तीको भीषण आगलागी ७ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन १ सय ५४ जना नेपाली सेना, सय बढी नेपाल प्रहरी र एक सय २० जना सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । त्यस्तै आगो नियन्त्रण लिनका लागि विभिन्न निकायका १० दमकलको प्रयोग गरिएको थियो ।
आगलागीबाट ९४ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म संकलन भएको तथ्याङ्कअनुसार उक्त क्षेत्रमा आगलागीबाट कुल १ करोड ६२ लाख ८५ हजार को क्षति भएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए । घटनास्थलको क्षतिपूर्ति संकलन गर्ने कार्य चलिरहेको हुँदा उक्त तथ्यांक घटबढ हुनसक्ने नगरप्रमुख मण्डलले बताए ।
आगलागीबाट पीडित परिवारलाई २० हजारका दरले राहत रकम उपलब्ध गराउने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।