बारा । बारामा स्थानीय पाेखरीबाट खरिद गरेर ल्याएका माछा खाएका एकै परिवारका ३ बालबालिकाकाे मृत्यु भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका–७ का एकै परिवारका ३ बच्चाहरुको मृत्यु भएको हो ।
शनिबार सिम्रौनगढका नरेश रामकाे परिवारले माछा खरिद गरेका थिए । सोही माछा र खाना खाएर सुतेको केही समयमा नै बच्चाहरुमा पेट दुख्ने, वाकवाकी लाग्ने र निरन्तर झाडापखाला लाग्ने भएपछि नरेशले उनीहरुलाई सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा उपचारका लागि पुर्याएका थिए ।
स्थानीय स्वास्थ्य चौकीले ३ वटै बच्चाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उपचारका लागि तत्काल सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गर्यो । त्यसपछि स्थानीय प्रहरी र जनप्रतिनिधिको सहयोगमा एम्बुलेन्स बोलाएर उनीहरुलाई कलैया अस्पताल पुर्याइयो तर अस्पताल पुग्नु अगावै ९ वर्षीया लालिमा रामको मृत्यु भएको छ ।
त्यस्तै जटिल अवस्थामा कलैया अस्पताल पुर्याइएका अन्य २ जनाको अवस्था पनि गम्भिर भएको भन्दै अस्पतालले उपचारका लागी नेशनल मेडिकल कलेज पठायो । सोहीअनुरुप वीरगंजस्थित मेडिकल कलेजमा उपचारका लागि पुर्याइएका ७ वर्षीया पुष्पा राम र ५ वर्षीय कृषनन्दन रामको समेत मृत्यु भएको सिम्रौनगढ नगरपालिका ७ का वडाध्यक्ष विवेक मेहताले बताए ।
उपचारका लागि लगिने क्रममा एक जनाको र अन्य २ जनाको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार खाना खाएपछि बालबालिकाहरूमा स्वास्थ्यमा समस्या देखिएकाले फुड पोइजन भएको आशंका गरिएको छ । मृतक बालबालिकाको पोष्टमार्टका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाइएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
*यसअघि प्रकाशित समाचारमा अन्यथा पर्न गएकाेमा सच्याइएकाे छ ।– सम्पादक