काठमाडौँ । सरकारले चाडपर्वका लागि आयात गर्न खोजेको चिनी ल्याउन ६ दर्जन बढी कम्पनीहरूले आवेदन दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन २३ गते व्यापारीबाट आवेदन माग गरेको थियो ।
ठूला चाडपर्व लक्षित गर्दै १९ हजार मेट्रिक टन चिनी आयातका लागि विभागले ५ दिन भित्र आवेदन दिन गरेको सार्वजनिक सूचनामा यतिका धेरै फर्महरूले आवेदन दिएको विभागका अनुगमन शाखा प्रमुख एवम् सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।
‘तोकिएको समयसीमा भित्र ७० भन्दा धेरै फर्मले चिनी आयात गर्न अनुमति माग गरेका छन्,’ निर्देशक पाण्डेले भने, ‘विभागले तोकिएको मापदण्डअनुसार चिनीको कोटा निर्धारण प्रक्रिया सुरु गर्छ । ’
उनकाअनुसार विभागले यस अघि गरेको सार्वजनिक सूचना अनुसार पहिला आवेदन गर्ने फर्मलाई पहिले कोटा दिनेगरी तयारी गरिरहेको छ ।
‘सबै कागजात प्रक्रिया पुरा गरेर आवेदन दिएका फर्मलाई चिनी आयातको कोटा वितरण हुन्छ,’ निर्देशक पाण्डेले भने । विभागले न्यूनतम् २६ सय मेट्रिक टनबाट नघट्ने गरी चिनी आयातका लागि आवेदन गर्न सूचना गरेको थियो । सूचनामा पहिले आवेदन गर्नेहरू कोटा पाउनका लागि योग्य हुने उल्लेख छ ।