६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाट चीन पुगेका छन् । अमेरिकाको न्युयोर्कमा संयुक्र राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा चीन गएका हुन् । प्रधानमन्त्रीको एक साता लामो भ्रमण तालिका छ । उक्त तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोली आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टरले विमानस्थलमा स्वागत गरेका छन् । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनका राष्ट्रपति सी जिनपिङ पनि हाङजाओ आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री प्रचण्डसँग त्यहीँ भेट्ने कार्यक्रम तय गरिएको छ ।
आज अपरान्ह ४ बजे प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षिय वर्ता हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी ले सँगै लञ्च गर्नेछन् ।