काठमाडौँ । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा ठुलो क्षती भएको छ । राति सबै जना सुतेका समयमा आएका भुकम्पले ठुलो जनधनको क्षती गरेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प मापन गरिएको छ।
प्रहरीका अनुसार भुकम्पमा परी अहिलेसम्म कर्णालीमा मात्रै १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार जाजरकोटमा ७ जना र रुकुम पश्चिममा ११ जनाको ज्यान गएको छ । क्षतीको पूर्ण विवरण भने आइसकेको छैन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्रै ७ जनाको मृत्यु भएको छ । जाजरकोटका धेरै घर भत्किएकाले मृत्युको संख्या अझै बढन सक्ने प्रहरीले जनाएको छ।
जाजरकोट जिल्ला अस्पतालमा ४० भन्दा धेरै घाइते उपचारका लागि पुगेका छन् ।
यस्तै रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा मात्रै एकै परिवार ६ जना सहित ११ जना मृत्यु भएको छ ।
रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।
सानीभेरी गाउँपालिका २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाध्यक्ष मनोज जिसीले जानकारी दिए ।
जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको छ । भेरी नगरपालिकाकामात्रै ् ८ जनाको मृत्यु भएको घर्तीले बताए ।
उनका अनुसार सबै घर चर्किएका छन् । घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भएको छ ।
यस्तै कालीकोटको शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको ढुंगाको छाना भएको घर भत्किएको छ ।
कर्णाली प्रदेश प्रहरीका डिआईजी भिमप्रसाद ढकालका अनुसार जाजरकोट सदरमुकाममा पर्खाल भत्किदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएका छन् ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको मुरुडाडामा भत्किएका घरमा एकजना मान्छे च्यापिएको स्थानीयले बताएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठुलीबार्खुमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार आठबिसकोटमा कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएका छन् । भूकम्पको धक्का देशका अन्य भागहरूका साथै राजधानी काठमाडाैँमा समेत अनुभव भएकाे थियाे ।