१२ असाेज, काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई शुक्रबार भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले पटक पटक छलफलका लागि बोलाउँदा समेत उल्टै प्रहरीलाई चुनौती दिएपछि कानुनी प्रक्रिया पुरा गरेर पक्राउ गरेको अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ ।
केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । उनले फिल्म अनमोल सहित अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको तर अनमोलले विश्वासघात गरेकाले सबै लगानी डुबेको उजुरीमा उल्लेख गरेकीछिन् ।
राठोरका अनुसार ‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि छलफलका लागि पटकपटक बोलाउँदा समेत अनमोल प्रहरी कार्यालय उपस्थित भएका थिएनन् । बरु प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिएको प्रहरीले जनाएको छ ।
केसीका विरुद्द काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो ।