भदाै ९, सप्तरी - कर्तव्य ज्यान मुद्दामा सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलामाथि प्रहरी कार्यालयभित्रै जबरजस्ती करणी भएको खुलेको छ ।
पीडित महिलाले आफूलाई मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् ।
२०७९ कात्तिक ६ मा पतिको हत्या गरेको आरोपमा प्रहरीले उनीसहित तीन जनालाई गत चैत ४ गते पक्राउ गरेको थियो । पक्राउ परेको दुई दिनपछि अर्थात चैत ६ गते राति डीएसपी दीपककुमार रायले आफूमाथि जबरजस्ती करणी गरेको उनको आरोप छ ।
वैशाख ११ मा प्रहरी हिरासतबाट जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाइएकी उनले आफू बिरामी भएको बताएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । उनले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयान लेखाएकी थिइन् ।
त्यस्तै हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको घटना प्रहरीले समेत लुकाएको पाइएको छ ।
घटनाको पाँच महिनापछि बिहीबार पीडित महिलाका कानुन व्यवसायी र परिवार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी र उनका सहयाेगी एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका थिए । तर प्रहरीले उनीहरुको जाहेरी दर्ता नगरी फर्काइदिएको छ भने घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार राय आफूमाथि लागेको आरोप निराधार भएको दाबी गर्दै तर्किरहेका छन् ।