काठमाडाैँ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । महानगरपालिकाले प्रत्येक सेटमा २ वटा बिन राख्ने भएको छ । जसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि रहेको महानगरले जनाएको छ ।
‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो ।’ महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ । यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई बर्गीकरण विधिमा सचेत गराउँदैछौँ । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकेका छौँ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ ।’
महानगरले यसरी राखिने सेटहरु २ प्रकारका रहेका छन् । पहिलो सेट सानो आकारको हो । यसमा राखिने एउटा विनको क्षमता ७० लिटरको हुनेछ । यसको उचाइ १ दशमलव २ मिटर, चौडाइ १ दशमलव २३ मिटर हुनेछ भने यसलाई २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट््याण्डमा राखिनेछ । महानगरपालिकाले यस्ता बिन ३ सय सेट राखिनेछन् ।
त्यस्तै मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट््याण्ड हुनेछन् । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । विभागकाअनुसार खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् । बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ ।
यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुने विभागले जनाएको छ ।