काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
सबै प्रदेशका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले आइतबारनै मतदाताको लागि अन्तिम नामावली प्रकाशन गरिसकेको छ । सोमबार परेको उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक एक मतदानस्थल र दुई दुई मतदान केन्द्र कायम गरिएको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।