१९ असोज बाँके । नेपालगन्जमा हिन्दू मुस्लिम समुदायबीच पुनः विवाद उत्पन्न भएपछि बिहीबार हटाइएको कफ्यु आज पुन जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचना निकालेको छ ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा ‘नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने’ उल्लेख गरिएको छ ।
यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कफ्र्यु हटाएको थियो । विवाद समाधानको लागि बुधबार सर्वपक्षीय बैठक बसेर कफ्र्यु हटाउने सहमति गरिएको थियो ।