बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।
अब मिसिल अध्ययनपछि अभियोजन अघि बढ्ने छ । गत असार १२ गते सिआइबीले मिनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जना त्यही दिन बेलुका छुटेका थिए भने धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाह अहिले पनि सिआईबीको नियन्त्रणमा छन् । गुरुङमाथि सरकारी जग्गा व्यक्तिगत बनाएर बेचबिखन गर्दा संगठित तबरले कागजात किर्ते गरेको अभियोग छ ।
सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह लगायतको बयान लिएको थियो ।
बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सिआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।
ललिता निवासमा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास, र राष्ट्र बैंक छ । त्यो बाहेक ललिता निवासको २१२ रोपनी सरकारकै समरजंग कम्पनीमा दर्ता गरिएको थियो । त्यो मध्ये १ सय ४३ रोपनी जग्गा बिभिन्न अतिक्रमण भएको पाइएको छ ।