वीरगंज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न बहानामा मधेशले पाएको दुःख अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । बारा र पर्साका सुरक्षा निकायका प्रमुख तथा राजस्व चुहावट नियन्त्रण समितिका पदाधिकारीसमेत सहभागी कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले सो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देशको आधाभन्दा बढी जनसंख्या ओगटेको मधेसले भ्रष्टाचार, लागूऔषध दुव्र्यसनी, महिला हिंसा लगायतका समस्या झेल्नुपरेको र सरकार ती कुरीतिहरु नियन्त्रण गर्न र मधेशको विकासका लागि प्रतिबद्धता रहेको जनाएका छन् ।
त्यस्तै उनले ठेक्कापट्टा, नाला, ढल निर्माण र सडक तथा ठुल्ठुला निर्माण गर्नु मात्रै विकास नभएको र संविधानले प्रत्याभूत गरेको सेवा सुविधा र शान्ति सुरक्षा प्रत्याभुत गराउनु पहिलो विकास भएको बताएका छन् । सोही एजेण्डा बोकेर आफूहरु आएको उनले बताए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले उद्योगीले उधोग कलकारखाना स्वतन्त्र रूपले चलाउन पाउने र उद्योगीको शान्तिको प्रत्याभूति गर्न प्रहरीले कुनै किसिमको सम्झौता नगर्ने गृहमन्त्रीले बताएका छन् । ‘विदेशी लगानी सम्मेलन हाम्रा लागि जति आवश्यकता हो, त्यो भन्दा बढी हाम्रा देशका उधोगी व्यापारी हाम्रा लागी महत्वपूर्ण हुन् ।’, गृहमन्त्री लामिछानेले भने ।
उनले प्रहरी प्रशासनमा तस्करीको लाइन दिने, स्वार्थका लागी सरुवा बढुवा गराउने जस्ता कार्य सँधैका लागि बन्द गराउनका लागि कयौँ कानुनी जटिलताहरू रहेको र कानुन सच्याउने र प्रहरीको सरुवा बढुवामा अटोमेसन प्रणाली लागू गर्न लागेको पनि बताए ।
गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण गोष्ठीमा सीमावर्ती जिल्लामा हुनेगरेको राजस्व चुहावटलाई नियन्त्रण गर्ने तथा राजस्व अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
पहिलो सत्रमा प्रहरी तथा भन्सारका पदाधिकारीहरूको गोष्ठी चलेको थियो भने दोस्रो सत्रमा उधोगी व्यापारी तथा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको थियो ।
गोष्ठीमा गृहमन्त्रीसँगै गृहसचिव एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरी पुस्कर, अर्थ मन्त्रालयका पदाधिकारी, आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक लगायतका पदाधिकारीहरूसहित बारा र पर्साका सुरक्षा निकायका प्रमुख, उपप्रमुखहरूको उपस्थिति थियो ।