१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि नगर प्रहरीले जस्तै राजनीतिक दबाबबिना काम गर्ने हो सुशासन धेरै टाढा नभएको बताएका छन् । बिहिबार नगर प्रहरीको ३१ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाहले नगर प्रहरीले गरेको कामको तारिफ गरे । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने राजनीतिक हस्तक्षेपका कारण उदेश्य अनुरुपको सफलता प्राप्त गर्न नसकेको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘ जसरी हाम्रो नगर प्रहरी बल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक हस्तक्षेपबिना काम गरिरहेको छ, सुशासनका लागि एउटा राजनीतिक दबाबबिना नै काम गरिरहेको छ त्यसैगरि शसस्त्र प्रहरी र नेपाल प्रहरीले पनि कुनै दबाबबिना काम गर्नुभयो भने हामी शुसासन ल्याउन सफल हुन्छौँ’
कार्यक्रममा प्रमुख शाहले डेढसय बढी सार्वजनिक जग्गा संरक्षण, पार्किङको व्यवस्थापन, अवैध व्यापार र संरचना निर्माण रोकथाम लगायतका काममा नगर प्रहरीले ठूलो भूमिका खेलेको बताए । उनले नगर प्रहरी प्रमुखमा बुद्धि, विवेक र हिम्मत तीनै गुण भएको भन्दै प्रशंसा समेत गरे । उनले भने, ‘एउटै व्यक्तिमा बुद्धि, विवेक र हिम्मत कमैमा मात्र हुन्छ । तर राजु पाण्डेमा यो सबै गुण छ । त्यसैले नगर प्रहरी सफल छ ।’
उनले बुद्धि विवेक लगाउनुपर्ने बेलामा बुद्धि विवेक लगाउन, संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशीता देखाउन र हिम्मतले काम गर्ने ठाउँमा नगर प्रहरी पछि नपरेको समेत बताए । उनले नगरी प्रहरीले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक हस्तक्षेपबिना काम गरेको समेत जिकिर गरे ।
कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको समेत उपस्थिती थियो ।