
बारा । पथलैया–अमलेखगन्ज सडक खण्ड अन्तर्गतको पर्सा राष्ट्रीय निकुञ्जको आधार क्षेत्रमा बाटो भत्किएर असरल्ल परेको छ । सडकको नियमित मर्मतसम्भार नहुँदा दैनिक हजारौँ सर्वसाधारण र सवारी चालकले आवत जावतमा सास्ती भोग्नु परेको छ।
सडक मर्मत सम्भारको नाममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा सवारी जाम समेत बढ्दै गएको भन्दै सवारी चालक र स्थानीयबासीहरु आक्रोशित छन् ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन, हेटोडाले पथलैया अमलेखगन्ज रोड सेक्सनको काम दिएको चौधरी निर्माण सेवा, जनकपुर धनुषाले सुस्त गतीमा काम गरेका कारण दैनीक हजारौ यात्रुले धुलो र खाडलको सामना गर्नुपरेको सवारी चालक महेश खनालले बताए ।
निर्माण कम्पनीले ४ करोड १२ लाख ३ सय ४८ रुपैयाँ ९० पैसामा २०८० माघ २२ गते सम्झौता गरेर २०८१ जेठ २२ गते सम्पन्न गर्नुपर्ने भएता पनि ५० ५ पनि काम नहुदा यात्रु देखि चालकसम्मले हैरानी खेप्नु परेको छ ।

देशकै प्रमुख भन्सार बिरगंज भन्सार हुँदै दैनिक यही बाटो हुँदै हजारौं सवारी साधनले देशका विभिन्न स्थानमा विभिन्न सामाग्री ढुवानी गर्ने गर्छन । तर, काम सकारेर ढिलासुस्ती गर्ने निर्माण कम्पनीले समयमा कहिल्यै काम नगर्ने परिपाटीका कारण सास्ती खेप्नुभन्दा अर्को उपाय नभएको स्थानीय बताउँछ्न ।