काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य घटना नभएको बताएका छन् ।
नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् । त्यस्तै उनले ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने,’दुई युवाको हत्या भएको घटना सामान्य छैन। मैलै यो घटनालाई गम्भीर रुपमा लिएको छु । बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, त्यहाँ केही न केही षडयन्त्र भएको छ । सो घटना जस्तो देखिएको छ त्यस्तो छैन। त्यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु। यो कतै लोकतन्त्रत्र र गणतन्त्रका विरोधमा डिजाइन छैन त भन्ने प्रूप त होइन। यसकारण तुरून्त निलम्बन गर्ने र उच्च स्तरीय छानबिन समिति गठन गरिएको हो।’
प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रणालीमाथि आक्रमण भएको त होइन भन्ने भान समेत परेको बताए। आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए ।
त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।
सरकारले गर्नसक्ने कामहरु तुरुन्त गरेको भन्दै उनले केही गलत भाष्य बनिरहेको बताए । जनतालाई निराशा बाँड्ने राष्ट्रवादी हुनसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गर्न आँट गर्नुपर्ने बताए ।