काठमाडौं । साहारा सहकारी प्रकरणमा थुनछेकका लागि चितवन अदालतमा हाजिर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा १२ बजेबाट सुरु भएको बयान सकिएर थुनछेक सुरु भएको जिल्ला अदालत स्रोतले जनाएको छ ।
थुनछेक बहसका लागि सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता, दुई जना सहन्यायाधिवक्तासहित ७ जनाले वकालतनामा दिएका छन् भने रवि लामिछानेका तर्फबाट ६ जनाले वकालतनामा बुझाएका छन् ।
जाहेरकर्ताका तर्फबाट आजै सरुवा भएर चितवन पुगेका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने सहित उपन्यायाधिवक्ता बुद्धबहादुर थापा लगायत रहेका छन् भने पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले लगायतले वकालतनामा हालेका छन् ।
यस्तै लामिछानेका तर्फबाट बहसको लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा.नारायणदत्त कँडेल, चुडामणी सापकोटा लगायतले वकालतनामा हालेका छन् ।