काठमाडौं । बिहीबार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ ।
भन्सार अधिकृत मणिराम पौडेलको संयोजक रहेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा सदस्य छन् ।
बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको एफ जेड ५७३ अवतरण गरेको विमानमार्फत दुबईबाट आएका नेपालीबाट सुन बरामद भएको थियो । हातमा एउटा ब्याग समाएर आएका ति व्यक्तिलाई चेक गर्दा उनको साथबाट १४ किलो बराबरका ७ वटा सुनका बिस्कुट फेला परेको थियो । यसरी सुन बोकेर आएका व्यक्ति थिए गोरखा आरुघाटका चन्द्र घले रहेका छन् । घलेले ज्याकेट भित्र खल्ती हालिएको पातलो इस्टकोटमा सुन राखेका थिए । साथै जुत्तामा पनि सुन राखेका थिए ।
आफू पक्राउ परेपछि घलेले सुनका मालिक मीनबहादुर घले रहेको बयान दिएका छन् । प्रहरीले मिनबहादुरलाई पनि पक्राउ गरेको जनाएको छ । घले पनि गोरखाकै हुन् ।
पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरीको जिम्मा लगाएको छ ।