दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेका छन् । काठमाडौँ भित्रिने नाकामा भीड हुन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । अहिले नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।
यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेका हुन् ।
त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।
शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।
घरबाट फर्किनेहरू बढेपछि काठमाडौँका चोक र बसपार्कमा पनि भिडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ ।
सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।