काठमाडौँ । साइबर ब्यूरोको नियन्त्रणमा रहेका दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप सम्बन्धी समस्या देखिएपछि प्रसाईँ वीर अस्पताल भर्ना भएका हुन् ।
प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । उनलाई आइतबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।
व्यक्तिको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौँ जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर पूर्जी जारी भएको ४ दिनसम्म उनीहरु घरबाट बाहिर ननिस्किएपछि प्रहरी गेट नाघेरै घरभित्र प्रवेश गरेर पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गर्ने, अनेक आरोप लगाउने र सामाजिक संजालमा हाल्ने गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ । उनीहरुलाई साइबर ब्यूरो र भक्तपुर प्रहरी टोलीले पक्राउ गरेको हो ।