
काठमाडौँ । तपाईँ सडकमा चालक वा यात्रुका रुपमा यात्रा गर्दै हुनुहुन्छ ? सम्झनुस् त, ‘तपाईँ चढेको सवारी साधनका चालक लागू पदार्थ सेवन गरेर सवारी चलाई रहेको हुन्छ’, के तपाईँहरुले कहिल्यै यस्तो परिकल्पना गर्नु भएको छ ?
वा ‘तपाईँ गुडिरहेको सडकको विपरित दिशामा वा एउटै लेनमा गुडिरहेको अर्को सवारी साधनका चालक लागू औषध प्रयोग गरेर सडकमा निस्किएका छन्’ भन्ने तपाईँलाई लाग्छ ? पक्कै यो कुरा तपाईँ हामी सबैलाई अस्वभाविक लाग्छ । हुँदै होइन होला भन्ने लाग्छ ।
तर, नेपाल प्रहरीले काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाकाहरुमा गरेको जाँचमा यात्रु बोकेर गुडेका सवारी साधनका चालकहरु लागू पदार्थले लठ्ठ भएकै अवस्थामा यात्रुबाहक बस हाँक्ने गरेको पाइएको छ । अझ काठमडौँमा धेरै मात्रामा गुडिरहेका मयुर यातायातका बस नै लागू पदार्थले लठ्ठ चालकले चलाउने गरेको खुलेको छ ।

यो मयुर यातायातको बा ५ ख ४३०० नम्बरको बस हो । २० जना यात्रु बोकेर शुक्रबार दिउँसो धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बसलाई नेपाल प्रहरीको लागु औषध जाँच टोलीले भक्तपुरको जगातीमा रोक्यो । सर्वप्रथम प्रहरीले चालकसँग संवाद गरे । लागू पदार्थ सेवन गरेको आशंकापछि प्रहरीले चालकलाई स्वास्थ्य परीक्षणका लागि किटमा पिसाबको नमूना संकलन गरेर जाँच गरे । सो जाँचमा उनले लागूपदार्थ सेवन गरेको पुष्टि भयो ।

प्रहरीले सो बसका यात्रुलाई ओराले र अर्को बसको व्यवस्था गर्ने भन्दै मयुर कम्पनीमा सम्पर्क गरेर चालक पठाउन प्रहरीले आग्रह गरे । आफूहरुलाई बीच बाटोमा रोकेको भन्दै यात्रुहरु प्रहरीसँग आक्रोशित भए । त्यसपछि प्रहरीले लगत्तै धुलिखेलबाटै काठमाडौंँ आइरहेको मयुर यातायातको बा ६ ख ३००६ नम्बरको अर्को बस रोकेर यात्रुलाई बसाएर काठमाडौँ पठाउने तयारी गरे । तर, दुव्र्यसनी जाँच गर्न बसेका प्रहरीलाई सो बसका चालकमाथि पनि शंका लाग्यो ।
ति चालकलाई ओरालेर लागू पदार्थ जाँच गर्दा उनको पनि रिपोर्ट पोजेटिभ देखियो । धुलिखेलबाट काठमाडौँ आउँदै गरेका मयुर यातायातका २ वटा बसका चालकहरु लागू पदार्थ दुव्र्यसनीमा परे । त्यही बसमा रहेका सहचालकहरुले यो कुरा समिति र अन्य बसका चालकसम्म पु¥याए । त्यसपछि सो रुटमा मयुर यातायातको बस नै आउन छाड्यो ।

प्रहरी बृत्त जगातीकाअनुसार शुक्रबार २५ वटा सवारी साधनका चालकमाथि गरिएको यस्तो परीक्षणमा ४ जना चालकहरुले लागू पदार्थ दुव्र्यसनी गरेको स्वाथ्य रिर्पोट पाइएको थियो । जसमध्ये २ जना चालक मयुर यातायात प्रालिबाट सञ्चालत हुने बसका चालक थिए ।
जगाती बृत्तका प्रहरी निरिक्षक नवराज सापकोटाकाअनुसार मयुर यातायातका दुई जना चालक सहित ४ जनालाई नियन्त्रणमा लिएर म्याद थप गरी थप अनुन्धान थालिएको छ ।
मयुर यातायात प्रालिले पनि आफ्ना चालकहरु लागू औषध सेवन गरेको कसुरमा जगातीबाट नियन्त्रणमा परेको स्वीकार गरेको छ । कम्पनीका प्रतिनिधि बाबुराम श्रेष्ठले दुई जना चालकहरुलाई प्रहरीले पक्राउ गरेको बताए ।

‘प्रहरीले यस्तो परीक्षण गरिरहेको छ । सवारी चलाउँदा वा कुनै पनि बेला लागू पदार्थ सेवन नगर्नु भनेर हामीले पटक पटक जानकारी गराएको हो,’ श्रेष्ठले सिधाकुरासँग भने,‘तर, सेवन गरेको भन्ने पाइयो ।’ प्रहरीका अनुसार स्वास्थ्य परीक्षण रिपोर्टमा लागू पदार्थ सेवन गरेको पुष्टि भए पनि उनीहरुले के खाएका थिए भन्ने खुलेको छैन ।
