५ भदौ, तुलसीपुर (दाङ) : हिजो आज पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन । पढ्ने रहर मेट्न उमेरको उत्तरार्धमै भएपनि विद्यालय जान थालेको बताउँछन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीके समय हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन् । डाँगी अहिले घरबाट १ घण्टा पैदल हिँडेर तुलसीपुर १ कै वीरेन्द्र मा.वि. सुनपुरमा पढ्न पुग्छन् । ‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उनि भन्छन्, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’
विसं २०३२ सालमा श्रीमतीको निधन भएपछि एकल रहेका डाँगीका जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनि बताउँछन् । उनी अब आफू बाँच्दासम्म पढिरहने बताउनुछन् । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनि भन्छन्, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”
उनि पढाइमा पनि त्यति कमजोर छैनन् । शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएका छन् । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उनि भन्छन्, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अंग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउँछन् ।
विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीका अनुसार विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको छ ।