
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले काम गरेको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले सोमबार तालाबन्दी गरेका छन् । चन्द्रपुर नगरपालिकाले विभिन्न समयमा दिएको कार्यदेश अनुसार सम्पन्न गरेको कामको सवै कागजात दुरुस्त बुझाउदा समेत बर्षौ देखि भुक्तानी नदिएको भन्दै आज बाध्य भएर तालाबन्दी गर्नु परेको नेपाली काग्रेसका नेता सुमन गौतमले जानकारी दिए ।
चाडपर्वको मुखमा रकम भुक्तानी दिन्छु भन्दै आश्वासन दिएपनि केही दिन देखि चन्द्रपुर नगरपालिकामा नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत नबसेका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको उनले सिधाकुरालाई बताए ।
चन्द्रपुर नगरपालिका ९ का वडा अध्यक्ष नवराज देवकोटाले उपभोक्ता समिति बर्षौदेखि कागजात बोकेर हिँड्दा समेत भुक्तानी नपाएको आक्रोशमा तालाबन्दी गरिएको बताए । आफु अनुकुलका उपभोक्ता समिती र निर्माण व्यवसायीलाई भुक्तानी दिने तर सोझासाझा समितिलाई अनावश्यक दुख दिने गरेको आरोप उनीहरुको छ ।