काठमाडौँ । धादिङ गजुरीका अनाेज थापा पर्यटन क्षेत्रमा लागेको १२ वर्ष भयो । पथ प्रदर्शक ( ट्रेकिङ गाइड ) का रुपमा नेपालका हिमाली क्षेत्रमा आउने पर्यटकलाई घुमाउने थापाले विशेष गरेर अन्नपूर्ण क्षेत्रमा लामो समय काम गरे ।पथ प्रदर्शकका रुपमा विदेशीलाई नेपालको हिमाल र हिमाली कथाबारे वर्णन गर्दा गर्दै उनको मनमा आफू पनि आरोही बन्ने सपना पलाउँथ्यो । ‘गाइडका रुपमा हिमालका फेदिमा पुग्दा एक दिन यो हिमाल चढ्न पाए भन्ने हुन्थ्यो,’ अनुज भन्छन्, हिमाल आरोहण गर्नेहरूसँग जिस्क्याउँदै लौन मलाई पनि कसैले हिमाल चढाइदेऊ भन्थे । तर जसले पनि मलाई हिमाल चढ्न हिँड्नु पर्छ । बोकेर त कसले चढाउँछ र भन्थे ।’ पद यात्राकै क्रममा अनुजको भेट इलाइट एक्सपेडका किर्तिमानी आरोही मिङ्गमा ग्याबु शेर्पा (मिङ्गमा डेविट) सँग भेट भयो ।
पदयात्रामा हिँडिरहेका युवा गाइड अनुजलाई निर्मल पुर्जासँगै काम गर्न अफर गरे । अनुजले त्यसलाई स्वीकार गरे । सहकार्य सुरु भएकै वर्ष उनले इलाईटबाट अमादब्लम हिमाल चढे । ६ हजार मिटर मात्रै उचाइ तर चढ्नका लागि कठिन र प्राविधिक रुपमा जटिल मानिने हिमाल उनले गत वर्ष चढे । निम्सले उनलाई एभरेष्ट चढ्नु पर्छ भनेर प्रेरणा दिए ।
सगरमाथाको चुचुरोमा ४५ मिनेट बिताएका उनले आफूलाई तल ओर्लिन मनै नलागेको समेत सिधाकुरालाई बताएका छन् । सगरमाथा आरोहणका आरोह र अवरोहबारे उनीसँगको संवाद विस्तृतमा यहाँ प्रस्तुत गरिएको छ ।
स्वास्थ्य कस्तो छ ? यात्रा कस्तो भयो ?
एक पटक खोकी र टाउको पनि नदुखी काठमाडौं फर्केको छु । सारै मज्जा आयो । निकै राम्रो छ । ठिक छ । भगवानको कृपाले राम्रो भयो ।
आरोहण यात्रामा कति दिन बिताउनु भयो ? सगरमाथा क्षेत्रमा ?
काठमाडौं हुँदै नाम्चे, गोक्यो हुँदै चोलापास पुगियो । त्यसपछि बेस क्याम्प पुगियो । आरोहणका लागि कम्पनीबाट आउनु भएका विदेशी पाहुनाहरू पनि त्यहाँ आइपुग्नु भयो । आरोहणको तयारी, आरोहण लगायतका सबै काम सकिएर ६५ दिनमा काठमाडौं फर्कियौँ ।
सगरमाथाको चुच्चोमा पुग्दा समय कस्तो थियो ? तपाईंको के सोचिरहनु भएको थियो ?
क्याम्प ४ बाट हामी राति ११ बजेतिर हिँड्यौँ । मौसम एकदमै बिग्रिएको थियो । हावा हुन्डरी र हिउँ परिरहेको । हात खाला कि खुट्टा खाला की भन्ने डर थियो । तर, जुत्ता र पञ्जा राम्रो भएका कारण पञ्जालाई हिटिङ गरेर अगाडि बढेँ । फर्किनु पर्ने जस्तो त्यो ३ घण्टाको मौसममा हिँड्नु पर्दा मनमा डर र भय पनि थियो । तर, बिस्तारै उज्यालो हुन थाल्यो । मौसम पनि राम्रो हुन थाल्यो । बाल्कोनी पुगेको थिएँ । सूर्योदय भयो । पुरै तिब्बत रातो थियो । मैले यति राम्रो सूर्योदय कहिल्यै देखेको थिइन । त्यो साँच्चै म्याजिकल थियो ।
अब नयाँ आशा र उत्साह पलायो । केही साथीहरू चुचुरो पुगेर फर्किदै थिए, कोही जाँदै थिए । बाटोमा फर्किएकालाई सोध्थे कति समय लाग्छ ? उनीहरूले भन्थे ३० मिनेट, एक घण्टा..यस्तै यस्तै । म बिहान १० बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेँ । जब चुचुरो पुगेँ खुसीले आँखा रसायो । हिमालमा ट्रेकिङ गरेको १०/१२ वर्षको अनुभव थियो । गत वर्ष मात्रै सगरमाथा क्षेत्रमा पुगेको मान्छे म दोस्रो पटक सो क्षेत्रमा पुगेकै बेला सगरमाथाको चुचुरोमा पुगेँ । यो सबै मेरो साथीहरू, र आफन्त र परिवारको मायाको कारण हो । सगरमाथा देखेको महिनामै चुचुरोमा पुगेपछि म पुगेँ भन्ने कुरोले मलाई भावुक बनायो । घर परिवार, आफन्त, साथीभाइ सम्झिएँ । अब एकछिन बस्नु पर्छ भनेर टपमा बसेँ ।
तपाईं चुचुरोमा कति समय बस्नु भयो ?
म चुचुरोमा ४५ मिनेट बसेँ । फोटो भिडियो खिचे । चुचुरोमा आइपुगेका अन्य आरोहीहरूको फोटो र भिडियो पनि खिचेँ । चुचुरोमा बस्दा अक्सिजन नलगाई बस्न सकिन्छ की सकिन्न भनेर प्रयास गरे । सकिने रहेछ ।
झण्डै एक घण्टा संसारको अग्लो ठाउँमा बिताई रहँदा मनमा के खेलिरहेको थियो ?
त्यो गर्दागर्दै डेभिड दाइसँग भेट भएपछि दाइलाई मैले मलाई काम दिनुस् भने । म तपाईँको भारी बोकिदिन्छु मलाई हिमाल चढ्न लिएर जानुस् न दाइ भनेँ । त्यो क्रममा डेभिड दाइले मलाई, ‘मैले तिमीलाई लिएर त जाने । तर, मैले नै तिमीलाई बोकेर ल्याउनुपर्यो भने के गर्ने भाइ भन्नुभयो ।’ त्योसँगै मेरो स्काउटको ट्रेनिङ, बाहिरतिर हिँडिरहेको भएर ज्यानले पनि धेरै साथ दियो । त्यो सँगसँगै डोरी खेलाइरहेको बानी, इक्युपमेन्ट ( हातहतियार)सँग खेलिरहेको बानी, अनि सामान जुटाउन पनि मलाई गाह्रो भएन । यसपालि मलाई मिङ्मार डेभिड दाइले सहयोग गर्नुभयो । पोहोर साल जाँदाचाहिँ म निम्स दाइको टिमलाई बेस क्याम्पमा सर्भ गर्न बसेको थिएँ । पोहोर साल जाँदा पनि मलाई मेरो ज्यानले साथ दिएको थियो । तलमाथि गर्दा मलाई चाहिँ मेरो ज्यानले लेक पचाउँछ है भन्ने लागेको थियो । पोहोर साल पनि लगभग ७०/८० दिन एभरेष्ट बेस क्याम्प बसेको थिएँ, त्यो बेला नै माथि ( चुचुेरो ) जान पाए पनि हुन्थ्यो भन्ने लागेको थियो ।
पहिलो पटक यसपालि खुम्बु आइसफल तर्दा मलाई डर लागेको थियो । खुम्बु आइसफल रातीराती तर्छौँ । पहिलो पटक खुम्बु आइसफल तर्दा त रातिको समय थियो । हाम्रा साथीहरू तुफान हिँड्नुभयो । शेर्पा दाजु भाइहरू यति चाँडो हिँड्नुहुन्छ कि सँगै हिँड्नै नसक्ने । तपाईँहरू जाँदै गर्नुस् न म आउँदै गर्छु भनेर हाम्रो क्याम्प टु को कुक दाइलाई मैले दाई तपाईँ म सँगै जानुपर्छ है भनेँ । त्यसपछि उहाँ सँगसँगै बिस्तारै गएँ ।
फस्ट रोटेसन गएँ आएँ । मलाई एकदमै रहर थियो खुम्बु आइसफल देख्दा चाहिँ एकदमै रमाइलो अनि डरलाग्दो ठाउँ । के गर्ने, कसो गर्ने, मेरो स्किलले भ्याउँदैन होला जस्तो लाग्थ्यो तर त्यस्तो भएन । मेरो पहिलेदेखिको क्लाइम्बिङ स्किल, ज्यान पनि मोटोघाटो छैन, ज्यानले साथ दियो । म स्काउटमा तालिम पनि गरिरहने भएका कारण पनि सजिलो भयो । जे होस्, सजिलो भयो उकाली ओराली गर्दाखेरी । हल्का टेक्निकल पार्टहरुमा पनि सक्ने, गाउँघर नि डुलिरहेको हुनाले सहज बन्यो । हिमालकै छोरो भएकाले पनि त्यस्तो धेरै गाह्रो चाहिँ भएन ।
समिट जाँदाखेरी तीन ठाउँ भासियो खुम्बु आइसफल । खुट्टा कामेको थियो एकचोटी तर त्यसबाहेक ६/७ पटक खुम्बु आइसफल तरेँ र क्याम्म ‘फोर’ सम्म रोटेसनमा पनि गएको थिएँ । क्याम्प ‘फोर’ रोटेसनमा गएका कारण समिट नजिक पनि देखिएको थियो । यहीँ त रहेछ नी भन्ने लागेको थियो, त्यही भएर भित्रभित्रै मनोबल बलियो बनाएर गएको थिएँ । म जसरी पनि जान्छु किनकि मैले प्रतिनिधित्व गरेर मेरो साथीभाइ, मेरो घरपरिवार थुप्रो जनालाई चाहिँ मैले लिएर जाँदै गरेको छु भन्ने लागेको थियो । त्यही मनोबलले म सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुँ ।
तपाईँलाई खुम्बु आइसफल तर्दा एकदमै डर लागेको थियो भन्नुभयो । त्यो बेला के भएको थियो ?
मेरो त्यो पहिलो पटक थियो नि त । साथीभाइहरू छिटोछिटो जाने । हिजोमात्रै बाटो खुलेको, आज सामान पुर्याउन जाने है भन्ने भयो । अनुज तिमी जाने माथि ? भनेर दाइले सोध्नुभयो । मलाई पनि हेर्न मन थियो । ‘जाउँ न म पनि जान्छु’ भनेँ । हल्का सामान बोकेर, खानेकुरा सहित लगभग ८/१० किलोको सामान बोकेर म यात्रा गर्न सुरु गरेँ । हामीले करिब १० बजेतिर बेस क्याम्पबाट यात्रा सुरु गर्यौँ ।
दाइहरू अघिअघि लागिसक्नु भएको थियो । मलाई चाहिँ बिस्तारै बिसाएर हिँड्ने बानी छ । यसो २ मिनेट बिसाउँदा दाजुहरू डाँडा काटिसकेको हुने । धन्न एउटा दाइ हुनुहुन्थ्यो, उहाँलाई साथी बनाएर बिस्तारै बिस्तारै गएको हो । पहिलोपटक भएर होला डर लागेको । त्यो आइस कतिबेला भत्किने हो थाहा छैन । कहाँनेर के हुने हो थाहा छैन, बाटो कति टाढा छ भन्ने पनि थाहा छैन । त्यो कारणले पहिला डर लागेको थियो ।
दिउँसोको समयमा किन जोखिमपूर्ण रहेछ खुम्बु आइसफल ?
खुम्बु आइसफल सबै आइसको ढिक्का, त्यसमाथि पनि मुभिङ आइस । त्यो ग्लेसियर चाहिँ जतिबेला पनि मुभिङ भइरहेको हुन्छ । फ्रजाइल हुन्छ रातिको समय हिँड्नुको कारण चाहिँ रातिमा त्यो जमेर दह्रो बन्छ अनि जाँदा भत्किँदैन । सजिलो हुन्छ । दिउँसो हिँड्दा चाहिँ घामका किरण परावर्तन भएर आउने र हिँड्न गाह्रो हुने र भासिने हुँदो रहेछ । त्यही भएर राति हिँड्न चाहिँ उपयुक्त हुने रहेछ ।
यो भन्दा पहिले तपाईँले कुनै हिमालको आरोहण गर्नुभएको थियो ?
मैले गत वर्ष नोभेम्बरमा त्यही खुम्बु रिजनकै आमादब्लम ( ६,८१२ मिटर ) को हिमाल आरोहण गरेको थिएँ । यो हिमाललाई चाहिँ ‘टेक्निकल माउन्टेन’ पनि भनिन्छ । अन्य हिमालसँग दाँजो गर्ने हो भने त्यो हिमाल चढ्न एकदमै ‘क्लाइम्बिङ स्किल’ चाहिन्छ । त्यो हिमाल चढेर अलिकति हौसला मिल्यो । त्यो हिमाल चढ्न पनि अफिसबाटै समानहरु मिलेको थियो । मैले अहिलेसम्म हिमाल चढ्नलाई खासै सामान किनेको छैन । अफिसले नै धेरैजसो उपलब्ध गराइदिनु हुन्छ । सुरुमा चढ्न गाह्रो हुन्छ नै तर पनि आफूले गरेको मेहेनत, परिश्रमको फल चाहिँ मैले अहिले पाएँ झैँ लाग्छ ।
के अब फेरि सगरमाथा चढ्ने रहर छ ?
यो चाहिँ समयले बताउँछ । अस्ति त गएर आएँ, फेरी अर्को वर्ष जान्छु जस्तो लागेको छ किनकि मैले समिटबाट त्यत्ति राम्रो दृश्य देख्न पाएको थिइनँ । त्यसका लागि भएपनि एकचोटी चाहिँ जाने रहर छ ।
हिमाल आरोहण गर्ने मान्छेलाई रेकर्डको लोभ हुन्छ भन्छन्, तपाईँलाई चाहिँ त्यस्तो छ छैन ?
रेकर्ड नै बनाउँछु भन्ने चाहिँ छैन । तर, हिमालको यात्रा गर्दागर्दै रेकर्ड नै भएछ भने चाहिँ छुट्टै कुरा हो । तर, रेकर्डको पछि लाग्यो भने हिमाल जस्तो ठाउँमा ज्यान जाने जोखिम हुन्छ किनकि हिमालमा एकदमै रिस्क छ । आफ्नो ज्यानले नि साथ छोड्न सक्छ वा ‘न्याचुरल क्यालामेटिस्’ पनि हुन सक्छ । त्यसैले रेकर्डको पछि लाग्यो भने हिमालमा पछि पर्न पनि सकिन्छ । त्यसैले मलाई रेकर्डको लोभ छैन ।
हिमाल बारे यो देशले, राज्यले, नागरिकले बुझेको हिमाल र तपाईँले बुझेको हिमाल बीच फरक के छ ? हिमाल के हो ?
मलाई चाहिँ राज्य अनि नागरिकले हिमाललाई बुझेझैँ लाग्दैन किनकि हाम्रा लागि हिमाल अनि हिमालयन रेन्ज भनेको हाम्रो सम्पत्ति हो । हामीले हिमाललाई बचाइराख्यौ भने हामी मात्र नभएर हाम्रा पछिल्ला पुस्तालाई समेत यसले सहयोग गर्नेछ । हाम्रा पुस्ताको समेत भविष्य सुरक्षित छ । हाम्रा पुस्ताले नेपालमै प्रगति गर्न सक्छन्, विदेश जानु पर्दैन ।
भारी बोकेर हुन्छ कि, गाइड गरेर हुन्छ कि घरपरिवार पालिरहनुभएको छ । अझ आजभोली त देशभरका नागरिकहरू जीवन चलाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हिमालसँग जोडिरहनुभएको छ । हिमालमा रोजगारीको अवसर एकदमै धेरै छ । त्यसैले फेरी भन्दै छु, हिमाललाई संरक्षण गरेर राख्यो भने, हामी र हाम्रो आगामी पुस्ता विदेश जानु पर्दैन । हिमाललाई माया गर्न सकियो भने चाहिँ हिमालले हामीलाई पुग्छ ।
तपाईँहरू हिमालमा हुनुहुन्छ । तपाईँहरू जे गरिरहनुभएको छ त्यो नेपाली सञ्चार माध्यमको प्राथमिकतामा छ की छैन ?
हो, त्यति धेरै छैन् । तपाईंले भनेजस्तै हाम्रो प्राथमिकतामा समाचार परे हुन्थ्यो भन्ने लाग्छ । हाम्रो प्राथमिकतामा चाहिँ अब कहाँ जाने ? यो ठाउँको अहिलेको स्थिति के छ ? अर्थात मौसमी रिर्पोटिङ भइदिए हुन्थ्यो । बाटोघाटो बुझ्थ्यौ । तर, हामी सिधै लोकल मान्छेलाई फोन गर्छौँ । हाम्रो लागि लोकल मान्छे सबैभन्दा ठूलो सञ्चार माध्यम हुन । हाम्रो लागि हिमालकै न्युज सबैभन्दा महत्वपूर्ण हुन्छ । के हुँदै छ त ? मुख्य त हिमालकै विषयमा जान्न खोज्छौँ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
नेपाल र नेपाल बाहिर भएका सबैले देशलाई माया गर्न नछाड्नु । जन्मभूमिलाई माया गर्न नछाडौँ । विदेशमा हुनुहुन्छ भने नेपाल घुम्न आउनुस् । देशमै हुनुहुन्छ भने नेपाल घुम्नुस् । यत्ति भन्न चाहन्छु ।