काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले ५ दिन सार्वजनिक यातायात चढ्ने अभियान सुरु गरेका छन् । सरकारबाट बाहिरिएपछि पार्टीले आयोजना गरेको बन्दसत्रको समापन पछि पार्टीले नयाँ अभियानको थालनी गरेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन ।
शुक्रबारबाट सुरु भएको बन्दसत्र शनिबार सम्पन्न भएको थियो । लगत्तै पार्टी सभापति रवि लामिछानेले अबको ५ दिन सबै नेताहरू सार्वजनिक यातायात चढ्ने पार्टीको निर्णय सार्वजनिक गरेका थिए ।
त्यसपछि पार्टी सभापति देखि सबै सांसद र केन्द्रिय सदस्यहरूको निजी गाडी पार्टी कार्यालयमा थन्क्याइएको थियो भने उनीहरु सार्वजनिक यातायातको बस चढेर घरतर्फ लागेका थिए । सहप्रवक्ता रावलका अत्यवश्यक अवस्थामा भने नेताले निजी गाडी प्रयाेग गर्न पाउँछन् ।
त्यस लगत्तै बनस्थलीबाट महाराजगन्ज आउन पार्टी सभापति रवि लामिछाने बस चढेका थिए । उपसभापति स्वर्णिम वाग्ले पनि शनिबार बस चढेर घर फर्किएका थिए । उनी बसको अन्तिमबाट दाेस्रो सीटमा बसेर घर पुगेका थिए ।
सांसद निशा डाँगी र केन्द्रिय सदस्य रमेश प्रसाईं पनि बसमा बसेर घरतर्फ लागेका थिए । यस्तै, सांसद तोसिमा कार्की बसको अन्तिम सिटमा बसेर घर गएकी थिइन् ।
पार्टी कार्यालय नजिकै घर भएका उपसभापति डिपी अर्याल भने शनिबार हिंडेर घर फर्किएका थिए । पार्टीको घोषित अभियान अन्तर्गत उनी आइतबार देखिको नियमित काममा सार्वजनिक यातायातको प्रयोग गर्न थालेका छन् ।