कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन् ।
नगरपालिकाले सामानहरूको तापमान–नियन्त्रण तथा तिनीहरूको गुणस्तर सुनिश्चित गर्न भाडामा लिएको घरलाई निजी आवास बनाएको पाइएको हो । नगरपालिकाले मासिक भाडा तिरिरहेको उक्त घरमा मेयर रावतले स्थायी रुपमा श्रीमतिसहित परिवारका सदस्य ल्याएर राखेका छन् ।
२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रावत निर्वाचित भएका थिए । त्यसपछि नगर प्रमुख रावतले धनगढीमा बस्दै आएकी कान्छी श्रीमतीलाई घोडाघोडी ल्याउन नगरपालिकाको कोल्ड चेन आवासको प्रयोग गरेको पाइएको हो ।
उनले आफू विजयी भए लगत्तै २०७९ जेठको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए । नगरप्रमुख रावत आजका मितिसम्म पनि कान्छी श्रीमतीसमेत भाडाको घरमा बस्दै आएका छन् । तर, नगरप्रमुख परिवारसहित बस्दै आएको उक्त घरभाडा भने, घोडाघोडी नगरपालिकाले तिर्दै आएको छ ।
मेयरले सरकारी आवास प्रयोग गर्ने कार्यलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ ले निषेध गरेको छ । ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई आवास सुविधा प्रदान गरिएको छैन । अझ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले प्राप्त गरेका सुविधाको विवरण तीन/तीन महिनाको अन्तरालमा सम्बन्धित स्थानीय तहले नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
कोल्ड चेन ताजा कृषि उत्पादन, समुन्द्री खाना, फ्रोजन फूड, फोटोग्राफिक फिल्म, केमिकल र औषधि जस्ता सामानहरूको तापमान-नियन्त्रण तथा त्यस्ता वस्तुको गुणस्तर कायम गर्न प्रयोग गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकाले घोडाघोडी–१० मा औषधि तथा भ्याक्सिन वस्तुहरूको अखण्डता र गुणस्तरको संरक्षण गर्ने उद्देश्यले स्थानीय भीष्म बहादुर बमको घरको चौथो तला भाडामा लिएको छ ।
गएको २१ महिना देखि मासिक १३ हजार पाँच सय रुपैयाँका दरले नगरपालिकाले आफूलाई भाडा तिर्दै आइरहेको घरधनी बमले सिधाकुरालाई बताए । सम्झौता पत्रमा नगरपालिकाले कोल्ड चेन कार्य परियोजनाका लागी लेखिएको भएपनि उक्त घर भाडामा लिए देखिनै नगरप्रमुख रावतको परिवार बस्दै आएको घरधनी बमले बताए ।
यस सम्बन्धमा घोडाघोडी नगरपालिका प्रमुख रावतलाई बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् । उनकी श्रीमती यमुनाले भने आफूले भाडा नतिर्ने सिधाकुरालाई बताइन । ‘यस विषयमा मेयरलाई नै सोध्नु होला, कताबाट तिर्छन्,’ उनले ठाडो जवाफ दिइन् ।
उता उपप्रमुख गुलिया कुमारी चौधरीले भने नगरप्रमुख उक्त कोल्ड चेनमा नबस्ने भन्दै बचाउ गरिन् । ‘उक्त हल्ला झुटो हल्ला हो । प्रमुख, उपप्रमुख जस्तो व्यक्तिले कहाँ त्यस्तो गर्नुहुन्छ ।
यस विषयमा हामीले घोडाघोडी नगरपालिकाका निमित्त कार्यालय प्रमुख खगेन्द्र बहादुर सिंहसँग कुरा गर्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको बताउँदै तर्किए ।
फाल्गुन ४, २०८० ०४:२७ मा प्रकाशित