काठमाडाैँ : नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा शिवपुरी निकुञ्ज क्षेत्रमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका छन् । त्यस्तै सँधै सरकारी निकायले दुखः दिइरहने हो भने आफू मन्त्रायल अघि नै अनसन बस्ने बताए ।
रिसोर्ट सञ्चालनको फाइल चार बर्षसम्म मन्त्रालयमा थन्काएर राखिएको भन्दै खड्काले वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका हुन् । उनले सबै निकायको सहमति जुटाएर फाइल पेश गर्दा नियतवस रोकिएको दावी गरेका छन् । मुलुकमा रोजगारी सिर्जनाका साथै आर्थिक क्षेत्रलाई सहयोग पुराउन रिसोर्ट खोल्न लागेपनि समयमा नै अनुमति नदिएर करौडौँ नोक्सानी भएको उनले बताए । उनले आफ्नो फाइल रोकिनुको कारणको जानकारी नपाए मन्त्रालयमा नै अनसन बस्ने बताएका छन् ।
यता वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले शिवपुरी निकुञ्ज क्षेत्रमा रिसोर्ट खोल्दा पुरा गर्नुपर्ने मापदण्डमा समस्या देखिएकाले फाइल अघि बढ्न नसकेको बताए । उनले कानूनले तोकेबमोजिम दण्ड जरिवाना गरेपनि अन्य काम प्रक्रिया अनुसार हुन नसकेको देखिएको जिकिर गरेका छन् । कर्मचारीले तोकिएको मापदण्ड विपरित फाइल अघि बढाउन नमिल्ने उनले बताए ।
त्यस्तै वन मन्त्री विरेन्द्र प्रसाद महत्तोले यसमा जरिवाना तिरिसकेपछि पनि फाइल रोकेर राख्नु कर्मचारीको नियतको प्रश्न रहेको बताएका छन् । उनले कर्मचारीले आफुलाई नटेर्ने भन्दै वन मन्त्रालयको कुनै औचित्य नरहेको बरु वन बिभाग मात्रै राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
त्यस्तै मन्त्री महत्ताले वन मन्त्रालयमा नियमसंगत आएका अन्य फाइलहरुलाई पनि कर्मचारीहरुले रोक्ने गरेको गुनासो गरेका छन् ।