काठमाडाैँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग कुराकानी गर्दै हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव नेपाल ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
इजरायलका विदेशमन्त्री कोहेनसँग आग्रह गर्दै उनले भने, ‘महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरूमा झन पीडा थप्ने छ, तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु।’
त्यस्तै उनले नेपाली विद्यार्थीको मृत्युले देशनै स्तब्ध रहेको समेत बताए । उनले भने, ‘ ‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो, अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। ’
उनले आक्रमणपछि सम्पर्कमा नरहेका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि अनुरोध गरे।
त्यस्तै उनले हमास समूहले इजरायलमाथि गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्धता समेत जाहेर गरे ।