१९ असोज, काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिष्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल आश्विन २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएको छ । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ ।
खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली आश्विन २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
उनले खेलको सम्पूर्ण तयारी अघि बढाईसकिएको र टिकट दर साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको बताए ।
प्रतियोगीताको अनुमानीत बजेट ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ । लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ ।